तीर्थालुको सहज आवागमनका लागि पाथीभरा क्षेत्रका सरोकारवालाले सम्बेदनशिल भएर जिम्मेवारी निर्वाह गर्ने सहमति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २६ । ताप्लेजुङको पाथीभरा मन्दिरका तीर्थालुको सहज आवागमन र व्यवस्थापनका लागि सरोकारवाला सबै पक्षले सम्बेदनशिल भएर जिम्मेवारी निर्वाह गर्ने सहमति भएको छ ।

तीर्थालुको सम्भावित बढ्दो चाँपलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको संयोजनमा शुक्रवार भएको सर्वपक्षिय छलफल यस्तो निश्कर्षमा पुगेको हो । ‘सडक,यातायात,तीर्थालुका लागि आवास र खाना,ट्राफिक व्यवस्थापन देखि मन्दिर क्षेत्र पुगेका तीर्थालुका लागि सहज दर्शन व्यवस्थापन सहितका सबै बिषयमा छलफल भएको छ’प्रमुख जिल्ला अधिकारी चेम्जोङले भन्नुभयो। पाथीभरा क्षेत्रका माथिल्लो फेदी,काफ्लेपाटी,बलुडाँडा सहितका स्थानहरुका होटलको क्षमता र गुणस्तरबारे अनुगमन गरी सोहि अनुसार तीर्थालुको थप व्यवस्थापनका बिषयमा निर्णय लिईने भएको छ । पाथीभरा क्षेत्रमा काम गर्ने पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिलेसमेत तीर्थालुको सहज आवागमनका लागि कार्ययोजना बनाई अघि प्रतिबद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी चेम्जोङले पाथीभरा क्षेत्रको कच्ची सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको कन्ेटक प्रालिलाई पाथीभराको ‘पिक सिजन’को समयमा बाटोमा सवारी अलपत्र पर्ने अवस्था आए त्यसको सम्पूर्ण जिम्मा लिन तयार रहनुपर्ने निर्देश गर्नुभयो ।‘अब यो र त्यो बहानामा बाटोका कारण तिर्थालुले दुःख पाएको खबर सुन्न सकिदैंन र सुन्न नपरोस्’ छलफलमा सहभागी कन्ेटक प्रालिका प्रतिनिधि मदन कठायतलाई इंगित गर्दै प्रजिअ चेम्जोङले भन्नुभयो ।

कठायतले कम्पनीकोतर्फबाट आफुहरुले जिम्मेवारी पाएको कामलाई तीव्र रुपमा अघि बढाउने बताउँदै पाथीभराको मुख्य सिजनको अवधिमा सडक स्तरोन्ती सहितका कामलाई समेत बिशेष ध्यान दिएर काम सुरु गरेको जानकारी दिनुभयो । सडक मर्मत,खाल्डाखुल्डी पुर्ने,नाली व्यवस्थापन सहितका कार्य सुरु भईसकेको बताउँदै उनले गिटी बालुवाको समस्या हल गर्न आफुहरुले दगुर्नेमा क्रसर मेसिन राख्ने कार्य अन्तिम चरणमा पु¥याएको बताउनुभयो । पाथीभराको मुख्य सिजन अवधिमा सवारीलाई समस्या नहोस् भनेर स्काईभेटर र जेसिबी तयारी हालतमा राख्ने उहाँको भनाई थियो ।‘कालोपत्रे भन्दा अघि पूरा गर्नुपर्ने कामलाई तीव्र गतिमा अघि बढाउने कुरामा कञ्जुस्याँई हुन्न’उहाँले भन्नुभयो ।

तमोर करिडोर(सुभाङखोला–दोभान–ओलाङचुङगोला)सडक योजना कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुदर्शन कार्कीले कन्टेक प्रालिको ३ महिना भित्रको कामको प्रगति बिबरण हेर्ने र कालोपत्रे गर्ने कार्य निर्धारित मितिमा सम्पन्न हुने अवस्थामा मात्र उक्त कम्पनीलाई कामलाई निरन्तरता दिन सकिने तयारीमा योजना कार्यालय रहेको जानकारी दिनुभयो । सुकेटारबाट काफ्लेपाटी सम्मको ११ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य कन्टेक प्रालि आउँदो असार मसान्त अगावै पूरा गर्नुपर्ने हुन्छ ।

सडक योजना कार्यालयका ईञ्जिनियर बसन्त गाँइका अनुसार अहिले सम्म कूल कामको करिव ७ प्रतिशत मात्र काम सम्पन्न भएको छ । तीव्र गतिमा र बिना बहानाबाजी काम गरेमा उक्त अवधिमा सुकेटारबाट काफ्लेपाटी सम्मको सडक कालोपत्रे गर्ने कार्य पूरा गर्न भने सकिने अवस्था रहेको गाँईले बताउनुभयो ।

केहि समय अघिमात्र यहाँबाट प्रतिनिधिसभामा निर्वाचित सांसद योगेशकुमार भट्टराईले सडक विभागका प्रतिनिधि,पाथीभरा सडकको कालोपत्रे गर्ने जिम्मेवारी पाएको कन्टेक प्रालिका प्रतिनिधि र यहाँस्थित सडक कार्यालयका प्रतिनिधिको संयुक्त बैठक बसाएर जिम्मेवारी अनुसारको काम अघि बढाउनुपर्ने समायावधि सहितको लिखित सम्झौता गराउनु भएको थियो । यातायात व्यवसायीले हिलो हटाउने नाममा माटो पुरेर सडक थप बेहाल नबनाउन सडक निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।

काफ्लेपाटीमा रहेको यातायात बुकिङ काउन्टरका कुमार लिम्बूले पाथीभराको दर्शन सिजन सुरु भएको अवस्थाका कारण तत्काल सडकका अरु काम गर्न नसकिएपनि सवारीलाई आवतजावतमा समस्या नहुनेगरी सडक चुस्त राख्ने काममा ध्यान दिन सुझाउनुभयो । राजनीतिक दलका अधिकाँस प्रतिनिधिले पाथीभरा क्षेत्रको सडकको काम लथालिङ्ग पारेको भन्दै निर्माण कम्पनीको आलोचना गर्दै तत्काल काम अघि बढाउन आग्रह गर्नु भएको छ । कार्यक्रममा फुङलिङ नगरप्रमुख अमिर मादेन,सुरक्षा निकायका प्रमुख,यातायात व्यवसायी,होटल व्यवसायी र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

Similar Posts