| |

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र वितरण धमाधम

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १८ । ताप्लेजुङमा राष्ट्रिय परिचयपत्र धमाधम वितरण भइरहेको छ । नाम दर्ता भएको करिव तीन वर्षपछि जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार २०७७ साउन १३ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरिएको तीन वर्षपछि भर्खरैदेखि परिचयपत्र वितरण गर्न सुरु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नाम दर्ता भएकामध्ये पहिलो पटक एकहजार ५०० जनाको परिचयपत्र आएकाले वितरण गर्न सुरु गरिएको राष्ट्रिय परिचयपत्र विवतरण दर्ता कर्मचारी (अपरेटर) बसन्त निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिलाई हाल धमाधम वितरण गरिँदै आएको छ ।
राष्ट्रिय परिचयपत्र विवरण दर्ता सहयोगी टीका बराल सिग्देलले गत भदौ २७ गतेदेखि परिचयपत्र वितरण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार यही मंगलबार सम्ममा ३१ जनाले राष्ट्रिय परिचयपत्र बुझिसकेका छन् । परिचयपत्र आएका व्यक्तिको मोबाइल नम्बरमा म्यासेज (सूचना) जाने र सोही म्यासेजका आधारमा प्रशासन कार्यालयमा सम्पर्क गर्ने व्यक्तिहरुलाई राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र प्राप्त भएकाहरुलाई धमाधम वितरण भइरहेको छ भने परिचयपत्रका लागि नाम दर्ताको कार्य पनि जारी रहेको छ । यता राष्ट्रिय परिचयपत्रका लागि नाम संकलन सुरु भएयता हालसम्म अर्थात मंगलबार सम्ममा ३० हजार ८७३ जना महिला र ३४ हजार ३६५ पुरुष गरी कुल ६५ हजार २३८ जनाको नाम दर्ता भएको छ ।
हालसम्म दर्ता भएको सङ्ख्यामध्ये यसअघि गाउँ–गाउँमा सञ्चालित अभियानमार्फत ४६ हजार २०५ र जिल्ला प्रशासन कार्यालयमार्फत १९ हजार ३३ जनाको नाम दर्ता भएको पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता शाखाले जनाएको छ । यता राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य पहिलो पटक भएकाले परिचयपत्र बनेर आउनलाई लामो समय लागेको हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले बताउनुभयो । आगामी दिनमा भने छोटो अवधिमा नै परिचयपत्र आउन सक्ने भट्टराईको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts