कृषि र पशु सेवा बितरण सम्वन्धी समिक्षा ः ताप्लेजुङमै पशु सेवा विज्ञ केन्द्र स्थापनाको माग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । स्थानीय सरोकारवालाले कृषि ज्ञान केन्द्र ताप्लेजुङलाई पालिकापिच्छेकै कृषि शाखामार्फत अनुदान तथा सहयोगको दरखास्त दिने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

अनुदान तथा सहयोग सुगम क्षेत्रमा केन्द्रित भएको भन्दै स्थानीय तहका कृषि शाखामार्फत रित अनुसारको दरखास्त दिने प्रवन्ध गर्दा सहयोगको क्षेत्र बाँडिने सरोकावालाको भनाई रहेको छ । जिल्ला सहकारी संघका अध्यक्ष टामन सिग्देलले जिल्लामा रहेको कृषि ज्ञान केन्द्रमा सबै कृषक समूह तथा फर्महरुको पहुँच नपुग्ने भएकाले पालिका–पालिकाका कृषि शाखामार्फत यस्तो अनुदानको दरखास्त दिन पाउने प्रवन्ध गर्न आग्रह गर्नुभयो । यसो भएमा योजना तल्लो तहसम्म पुग्ने र सहयोगको क्षेत्र समेत बिकेन्द्रित हुने उहाँको भनाई रहेको छ ।

कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त प्रमुख सन्तोष थापा मगरले आव २०७९।८० मा ज्ञान केन्द्रले सञ्चालन गरेका योजना तथा कार्यक्रम बारे प्रकाश पार्नु भएको थियो । उहाँले कृषकलाई अनुदान तथा ऋण कुन प्रकृतिको सहयोग उपयुक्त हुन्छ ? भनेर सहभागीको सुझाव समेत माग्नु भएको थियो । अधिकाँस सहभागीले अनुदान भन्दा सहुलियतपूर्ण ऋण उपयुक्त भन्नु भएको छ । फुङलिङ नगरप्रमुख अमिर मादेनले सुरुमा न्यून दरमा ऋण प्रवाह गर्ने र पछि कृषि क्षेत्रको लगानी र प्रतिफलका आधारमा त्यसको स्वरुप समेत परिवर्तन गर्न सकिने बताउनुभयो ।

उता यहाँका जनप्रतिनिधिहरुले प्रमुखहरुले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमार्फत आएको रकम न्यून भएको भन्दै जिल्लागत बिभेद भएको गुनासो गर्नु भएको छ । पाँचथरमा रहेको केन्द्रको कार्यक्षेत्र ताप्लेजुङ पनि हो । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमार्फत सम्पर्क कार्यालय ताप्लेजुङमा रहेको छ । कृषक तथा पशुपालकका लागि बिनियोजित योजनामा पाँचथरका लागि ७५ लाख र ताप्लेजुङका लागि २० लाख बराबरको योजना अघि सारिएको भन्दै जनप्रतिनिधिहरुले यो प्रकृया सुधार हुनुपर्ने सुझाउनु भएको छ ।

प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले योजना सञ्चालन आवश्यकता र प्राथमिकताका आधारमा गर्नुपर्ने बताउनुभयो । मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गामले प्रत्येक पालिकाहरुमा न्यूनतम् योजनाहरु सञ्चालनमा आउनुपर्ने बताउनुभयो । मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले सूचनाको पहुँच वडातह सम्मका कृषक तथा पशुपालक सम्म पुग्नुपर्ने बताउनुभयो ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले पशु सेवा विज्ञ केन्द्रको कार्यालय ताप्लेजुङमै स्थापना हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले कृषक तथा पशुपालकलाई अधिक लाभ पुग्नेगरी कार्य सञ्चालन प्रभावकारी बनाउन सके उचित प्रतिफल प्राप्त हुने बताउनुभयो । पशु सेवा विज्ञ केन्द्र पाँचथरका प्रमुख डाक्टर मनोजकुमार महतोले ताप्लेजुङमा सम्पर्क कार्यालय मात्र रहेको र कार्यालयमा जनशक्ति समेतको समस्या रहेकोले अधिकाँस योजना तथा कार्यक्रमका पाँचथर केन्द्रित हुन पुगेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले ताप्लेजुङमै पशु सेवा विज्ञ केन्द्र स्थापनाको पहल भइरहेको र चाँडै कार्यालय स्थापना हुने बिश्वास लिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts