ताप्लेजुङमा फेरी थालियो बजार अनुगमन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङमा बजार अनुगमनलाई निरन्तरता दिईएको छ । पहिलो चरणमा खाद्यान्न पसल र होटल तथा मदिरा बिक्री गर्ने पसलहरुको अनुगमन थालिएको हो ।

खाद्यान्न सहितका पसलहरुको अनुगमन जिल्ला प्रशासन कार्यालयको नेतृत्व तथा घरेलु कार्यालयको समन्वयमा हुन थालेको छ । होटल तथा मदिरा सहितका पेय पदार्थ बिक्री केन्द्रहरुको अनुगमन कोष तथा लेखा नियन्त्रक कार्यालयको अगुवाईमा सुरु भएको छ । नयाँ आर्थिक बर्ष सुरु भएको पहिलो महिनामै अनुगमन कार्यलाई निरन्तरता दिईने भनिएपनि बाढी पहिरोको असर सहितका कारणबाट आर्थिक बर्षको दुई महिना पछि मात्र अनुगमन थालिएको छ । घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले कम्तिमा मासिक रुपमा अनुगमन गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

अनुगमन समितिले फुङलिङ बाहेक अरु स्थानीय तहमा रहेका बजारहरुमा समेत छड्के अनुगमनको नीति लिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टाईले मासिक रुपमा बजार र पसलको प्रकृति अनुसार कार्यतालिका बनाएरै अनुगमन गर्ने योजना अनुसार अनुगमन प्रकृया सुरु भएको जानकारी दिनुभयो । कोलेनिकाका लेखापाल दुर्गाप्रसाद थापाले मदिरा बिक्री पसल तथा होटलहरुमा समेत अनुगमन गरी उपभोक्तामैत्री बजार कायम गर्न आफुहरुले समेत अनुगमन थालेको जानकारी दिनुभयो । कोलेनिकाले आर्थिक बर्ष २०७९।८० को उत्तरार्ध समयमा समेत बजार अनुगमन गरेको थियो ।

‘अब नियमित रुपले अनुगमनलाई निरन्तरता दिने छौं’थापाले भन्नुभयो । उहाँले ताप्लेजुङ प्रवेशद्धार काबेली देखि फुङलिङ बजार र जिल्ला भित्रका अधिकाँस पसलहरुको अनुगनको कार्यतालिका बनेको र नियमित रुपले अनुगमन गर्ने सुनाउनुभयो । बजार अनुगमन समितिले दर्ता र नविकरण,मूल्यसूची,बजारभाउमा एकरुपता र प्रचलित दर अनुसारको खरिदबिक्री,म्याद नाघेका बस्तुको व्यवस्थापन,अन्तःशुल्क सहितका बिषयलाई अनुगमनको तालिकामा समेटेको छ ।

दर्ता र नविकरणको बिषयमा यसअघि नै पटक–पटक निश्चित समयावधि प्रदान भईसकेकोले दर्ता प्रकृयामा सामेल नभएकाहरुलाई कानुनी दाहेरामा ल्याउने अनुगमन समितिको तयारी रहेको छ । अनुगमन समिति सदस्य तथा घरेलु कार्यालय ताप्लेजुङका प्रमुख घोर्साईले अनुगमनका क्रममा देखिएका बिषय सुधारका लागि प्रकृति अनुसार कम्तिमा ७ र बढीमा महिना दिन सम्मको म्याद दिएको जानकारी दिनुभयो । सुधारका लागि दिएका सुझाव पालना नभए अर्को चरणको अनुगमनबाट आवश्यक कानुनी प्रकृया सुरु गर्ने संकेत उहाँले गर्नु भएको छ ।

अनुगमन समितिले म्याद नाघेका बस्तु भेटे तुरुन्त जफत गर्ने नीति लिएको समेत जनाएको छ । खाद्यान्न र पेय पदार्थको एउटै कक्षमा राखेर बिक्री नगर्न,म्याद नाघेका बस्तुलाई बिक्री कक्षमा नराखी म्याद सकिएको संकेत गरी छुट्टै भण्डारण गर्न समेत अनुगमन समितिले व्यवसायीलाई सुझाव दिदैं आएको छ । नेपालीहरुका चाडपर्व समेत भित्रन थालेकोले बजार अनुगमन अरु समयमा भन्दा बढी गतिशिल,नियमति र बिशेष कार्यतालिका अनुसार अघि बढाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts