निमित्तको भरमा चलिरहेका ४ सहित ताप्लेजुङका ६ स्थानीय तहमा नयाँ प्रशासकीय प्रमुख,सरुवा भएका २ जना हाजिर हुनै आएनन्

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ६ । निमित्तको भरमा चलिरहेका ४ सहित ताप्लेजुङका ६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा २ जना भने खटिएको स्थानमा हाजिर हुनै आउनु भएको छैन ।

फुङलिङ नगरपालिका सहित यहाँका ६ स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । तर नगरपालिका सहित २ स्थानीय तहमा सरुवा भएका कर्मचारी हाजिर हुन आइनपुग्नु भएको हो । फुङलिङ नगरपालिकामा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको सरुवा भएको छ । फुङलिङका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल भने सरुवा भएको स्थान झापाको अर्जुनधारा नगररपालिकामा हाजिर भईसक्नु भएको छ ।

उता गृह मन्त्रालयबाट सिदिङ्वा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुनु भएका शुशिलकुमार भण्डारी अहिले सम्म हाजिर हुन आउनु भएको छैन । सिदिङ्वा लामो समय देखि निमित्तको भरमा चलिरहेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले अहिले सम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नआएको जानकारी दिनुभयो । सिरिजङ्गा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मधुर नेपालीको सरुवा भएको छ । त्यहाँका प्रमुख प्रशासकीय अधिकृत स्काई पोखरेल कहाँ जाने भन्ने टुङ्गो लागि सकेको छैन ।‘कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा सरुवा भएको भन्ने सुनेको छु,तर अहिले सम्म सरुवा बारे एकिन छैन’पोखरेलले भन्नुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मैवाखोला गाउँपालिकामा अभिषेक घिमिरे र मिक्वाखोला गाउँपालिकामा अर्जुनदेव योङ्यालाई नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

मैवाखोलामा शिक्षा अधिकृत लक्ष्मीमाया गोम्देन र मिक्वाखोलामा स्वास्थ्य शाखाका संयोजक ललितनारायण यादव निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाली रहनु भएको छ । नेपाली,घिमिरे र योङ्या संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा हुनुहुन्थ्यो । उहाँहरु तीनैजना नयाँ अधिकृतको रुपमा पास भई तालिम सम्पन्न गर्नासाथ प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भएको बुझिएको छ । यहाँका ९ मध्ये मेरिङदेन गाउँपालिकामा स्वास्थ्य शाखाका रत्नेश्वरप्रसाद शाहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पाथीभरा याङ्वरकमा जर्नादन निरौला र फक्ताङ्लुङमा नविन तेम्बे लिम्बू प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ

अरुलाई पनि शेयर गरौ !

Similar Posts