सुभाङखोला–दोभान–ओलाङचुङगोला सडकका लागि १० वटा मोटरेवल पुलको डिजाइन सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २३ । चालू आर्थिक बर्षमा तमोर करिडोर अन्र्तगत पाँचथरको सुभाङखोला देखि ताप्लेजुङको सुकेपानी सम्ममा १० वटा मोटरेवल पुल निर्माणको प्रकृया आरम्भ हुने भएको छ ।

तमोर करिडोर सुभाङखोला–दोभान–ओलाङचुङगोला सडक योजना कार्यालयका अनुसार योजनामा परेका मोटरेपुल पुल निर्माणका लागि डिजाइनको कार्य सुरु भएको छ ।‘चालू आवमा १० वटा मध्ये कम्तिमा पनि ६ वटा मोटरेवल पुल निर्माणको ठेक्का लाग्ने गरी योजना अघि बढाएका छौं’ सडक योजना कार्यालयका प्रमुख(डिभिजनल ईञ्जिनियर)अमिन्द्र खड्काले भन्नुभयो । कार्यालयले १० वटै पुलको निर्माणलाई चालू आवको जिम्मेवारीको रुपमा लिएर आवको सुरुबाटै अभियान चलाएकोले १० वटै पुलको डिजाइन सकेर ठेक्का प्रकृयामा जाने सम्भावना समेत उहाँले औंल्याउनुभयो ।‘योजनामा समावेश भएका सबै पुलको निर्माण कार्यलाई महत्व दिएर अघि बढ्ने गरी कार्यालयले प्राविधिक काम थालिसकेको छ’खड्काले भन्नुभयो ।

सुरुमा उत्तर–दक्षिण मूलघाट–ओलाङचुङगोला सडक योजना भनिदैं आएकोमा यो योजना तमोर करिडोरमै गाभिएपछि अहिले सडक योजना कार्यालयको नाम तमोर करिडोर सुभाङखोला–दोभान–ओलाङचुङगोला सडक योजनामा रुपान्तरण भएको छ । सडक योजना कार्यालयले हाङदेवाखोला र थाक्पाखोला क्षेत्रमा समेत मोटरेवल पुलको निर्माण हुनुपर्ने गरी प्राविधिक अध्ययन गरेकोले यि दुई स्थामा समेत मोटरेवल पुल निर्माणका लागि बिस्तृत प्राविधिक अध्ययन भइरहेको खड्काले जानकारी दिनुभयो । मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिका जोड्ने तमोरखोला माथिको पुल र आठराई त्रिबेणी गाउँपालिका क्षेत्रमा पर्ने सोबुवाखोला माथिको पुल समेत तमोर करिडोर क्षेत्रमै पर्छ । यि दुबै स्थानमा यसअघि नै मोटरेवल पुल निर्माण भई यातायात सेवा सञ्चालनमा रहेका छन् ।

खड्काका अनुसार चालू आवमा सोबुवाखोला,हाङदेवाखोला,फुरुम्बुखोला,सिस्नेखोला,तावाखोला,थाक्पाखोला,छाँगाखोला,कस्तुरी खोला,फेदीखोला र तमोरनदी सुकेपानी क्षेत्रमा पुल निर्माणका लागि प्रकृया आरम्भ गरेको छ । यि बाहेक ताम्मावा खोलामा बन्ने मोटरेवल पुलका लागि गत जेठ महिनामै ठेक्का सम्झौता भएको सडक योजना कार्यालयले बताएको छ । सिसंवा खोलामा भने डिजाइनले अन्तिम रुप पाईसकेकोले ठेक्काको प्रकृया आरम्भ गर्ने कार्यालयको तयारी रहेको छ । रानीपुलको भने डिजाईनले अन्तिम रुप पाउन बाँकी रहेको समेत कार्यालयले जनाएको छ । खड्काका अनुसार सुकेपानी सम्ममा जम्मा १३ वटा मोटरेवल पुल हुने सडक योजना कार्यालयले बताएको छ । सो भन्दा उभों ओलाङचुङगोला सम्ममा थप ४ वटा मोटरेवल पुल हुनसक्ने प्राविधिक पूर्वानुमान रहेपनि बिस्तृत अध्ययन हुन बाँकी रहेको खड्काले बताउनुभयो ।

अहिले यो सडको ट्रयाक ओपन गर्ने कार्य सुकेपानीमा पुगेर अड्किएकोले मोटरेवल पुल निर्माणका थप योजनाको प्राविधिक अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । सुकेपानी क्षेत्रमा रहेको चट्टान फोर्ने कार्य पूरा हुन बाँकी रहेकोले सुकेपानी–ओलाङचुङगोला जोडिन नसकेको खड्काले बताउनुभयो । एक किलोमिटर भन्दा कम दुरी रहेको चट्टानी भागमा समेत ट्रयाक ओपन भएपछि यो सडक ओलाङचुङगोलासम्म जोडिने छ । चट्टानी भागभन्दा उभों ओलाङचुङगोलातर्फको क्षेत्रमा यसअघि नै ट्रयाक ओपन भइसकेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts