|

ताप्लेजुङमा घटे घरजग्गाका कारोवारी,पुँजीगत लाभकर बढ्दा राजश्व असुली भने केहि बढ्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २२ । ताप्लेजुङमा घरजग्गाका कारोवारी घटेका छन् । घर जग्गा कारोवारीको संख्या घटेपनि पुँजीगत लाभकरमा भएको बृद्धिका कारण मालपोत कार्यालयले असुल गर्ने राजश्व रकममा भने बृद्धि भएको छ । आर्थिक बर्ष २०७८।७९ को तुलानामा सो भन्दा पछिल्लो आवमा घरजग्गाका कारोवारी घटेका मालपोत कार्यालय ताप्लेजुङले जनाएको छ ।

मालपोत कार्यालय ताप्लेजुङका निमित्त प्रमुख निर्मल शेर्पाका अनुसार आर्थिक बर्ष २०७९।८० मा सो भन्दा अघिल्लो आर्थिक बर्षभन्दा अढाई सय बढी घरजग्गाका कारोवारी घटेका हुन् । आव २०७८।७९ मा ताप्लेजुङमा २ हजार १० जना घरजग्गा कारोवारी थिए । पछिल्लो आव २०७९।८० मा घर जग्गा कारोवारीको संख्या १ हजार ७ सय ४८ मा झरेका छन् । आव २०७८।७९ मा भन्दा २०७९।८० मा २ सय ६२ जना घरजग्गा कारोवारी घटेका देखिएको मालपोत कार्यालयले जानकारी दिएको छ ।

मालपोत कार्यालयका सूचना अधिकारी खड्गबहादुर गुरुङका अनुसार कार्यालयले आव २०७९।८० मा कूल २ करोड २६ लाख ८४ हजार २ सय ९७ रुपैयाँ राजश्व असुल गरेको छ । कार्यालयले पुँजीगत लाभकर वापत ९१ लाख ४ हजार ३ सय ४५ रुपैयाँ असुल गरेको छ । आव २०७८।७९ मा भने १ करोड ७३ लाख ५५ हजार ७ सय ४१ रुपैयाँ असुल गरेको थियो । उतिबेला कार्यालयले पुँजीगत लाभकर वापत ३६ लाख ३३ हजार १ सय ८० रुपैयाँ असुल गरेको थियो । आव २०७८।७९ भन्दा २०७९।८० मा कार्यालयले पुँजीगत लाभकर वापतमात्र ५५ लाख ९ हजार ८ सय ६५ रुपैयाँ बढी असुल गरेको छ ।

पुँजीगत लाभकर नेपाल सरकारको राजश्व खातामा सोझै जम्मा हुन्छ । रजिष्ट्रेशन,न्यायिक दस्तुर र रोक्का तथा सेवा शुल्क भने स्थानीय सरकार र प्रदेश सरकारलाई बाँडफाँड हुने रकम हो । पुँजीगत लाभकर बाहेकको राजश्व असुलीको अवस्था हेर्ने हो भने दुबै आव हाराहारीमै देखिन्छन् । मालपोत कार्यालयले रजिष्ट्रेशन,न्यायिक,मोठ र कम्युटर शीर्षकमा संकलन गरेको राजश्व रकमको ६० प्रतिशत घरजग्गा कारोवारका आधारमा सम्वन्धित स्थानीय तहलाई र ४० प्रतिशत सम्वन्धित प्रदेश सरकारलाई बाँडफाँड गर्दै आएको छ । मालपोत कार्यालयले जग्गाको राजीनाम पास गर्दा गाउँपालिकाको हकमा २ प्रतिशत र नगरपालिकाको हकमा ४ प्रतिशतका दरले राजश्व रकम लिने गर्छ ।

सरकारले जग्गा तथा घरजग्गा निःसर्गमा लाग्ने पुँजीगत लाभकर सम्वन्धी निर्देशिका २०७२(पहिलो शंसोधन २०७६)मार्फत लाभकरको मापदण्ड निर्धारण गरेको छ । निर्देशिका अनुसार कुनै प्राकृतिक व्यक्तिको व्यवसायको आयमा प्रयोग नभएको गैर व्यवसायिक सम्पत्तिको निःसर्ग,हक हस्तान्तरण वा अन्य कुनै बिधिबाट भएको निःसर्गबाट हुने लाभ वा हानीलाई आयकरको दायरामा ल्याउँदा त्यहाँ पुँजीगत लाभकरको अवस्था सृजना हुन्छ । निःसर्ग गर्दा लाभ भएमा त्यस्तो लाभमा पुँजीगत लाभकर लाग्छ । कुनै पनि घरजग्गा कारोबारका क्रममा नाफा लिएको अवस्थामा त्यस्तो खुद नाफामा पूँजीगत लाभकर आकर्षित हुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts