ताप्लेजुङको फुङलिङस्थित लिटलबुद्धमा सुरुभयो एनसिसी ४९ औं ब्याचको तालिम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन १ । प्रथम प्रवचनसहित ताप्लेजुङमा राष्ट्रिय सेवा दल(एनसिसी)को ४९ औं ब्याचको तालिम सुरु भएको छ ।

नेपाली सेनाको भीमकाली गुल्मका अनुसार फुङलिङस्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलमा तालिम सुरु भएको छ भने सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङस्थित राष्ट्रिय माविमा केहि दिन भित्रै सुरु हुने छ । लिटलबुद्धमा सुरु भएको तालिमको प्रथम प्रचवन सहित भीमकाली गुल्मका गुल्मपति सेनानी पवन नगरकोटीले उद्घाटन गर्नु भएको छ । तालिम शुभारम्भ गर्दै नगरकोटीले एनसिसी तालिम सञ्चालनको प्रकृया र तालिममा सहभागीले अपनाउनुपर्ने भूमिका बारे प्रष्ट्याउनु भएको थियो । फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कुलमा अध्ययनरत ३६ जना बिद्यार्थी छनौट गरी तालिम सुरु गरिएको हो । १८ छात्र र १८ छात्रा गरी ३६ जनालाइ छनौट गरी तालिम दिईने छ । लिटलबुद्ध इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीका अनुसार बिद्यालयमा अध्ययनरत करिव १ सय ५० जना भित्रबाट राष्ट्रिय सेवा दलको तालिमका लागि योग्य ३६ जनाको छनौट गरिएको हो । छनौटको कार्य सेवा दलका लागि खटिएको टोलीले आफैं गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय सेवा दल एक स्वयमसेवक दस्ताको रुपमा परिचित छ । तालिमप्राप्त राष्ट्रिय सेवा दलका सदस्यलाइ विपद्को बेला आवश्यकताअनुसार परिचालन गर्न सकिन्छ । यो तालिम लिन विद्यार्थीको उमेर १४ देखि २४ वर्षको हुनुपर्छ । सबैभन्दा पहिला तालिमका लागि विद्यार्थी तयार हुनुपर्छ, त्यसपछि अभिभावकको स्वीकृति चाहिन्छ । सय दिनको यो तालिममा पिटी परेड गराइन्छ भने कतिपय व्यवहारिक ज्ञान पनि सिकाइने गरिन्छ । ‘तालिमको मुख्य उद्धेश्य कुशल यूवा दस्ता बनाउने हो‘सेनानी नगरकोटीले भने । युवाहरूको क्षमता अभिवृद्धि गरेर अनुशासित दस्ता बनाउन यो अभियान प्रयोग गरिन्छ । जुनयिर डिभिजन र सिनियर डिभिजन गरी दुई प्रकारका तालिम रहेका हुन्छन् । जुनियर डिभिजनमा ८ देखि १० कक्षाका विद्यार्थी हुन्छन् भने सिनियर डिभिजनमा ११ र १२ कक्षाका विद्यार्थी हुन्छन् । दुबै प्रकारको तालिम कार्यक्रमलाई संस्थागत तह र वार्षिक क्याम्प तहमा विभाजित गरिएको हुन्छ । दुबै तालिम कार्यक्रममा ७९ दिनको संस्थागत तहको तालिम र २१ दिनको वार्षिक क्याम्प सञ्चालन गरिन्छ । तालिममा मास पिटी,ड्रिल,विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका ज्ञान सिकाइन्छ । सिनियर डिभिजनका लागि हतियार तालिम तथा फायरिङ, घोडचढी, रक क्लाइम्बिङलगायत पनि सिकाइन्छ ।

तालिम सुभारम्भ कार्यक्रमलाई शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,ताप्लेजुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दावा शेर्पा,नेपाल औषधि व्यवसायी संघ ताप्लेजुङ–पाँचथर संयुक्त समिति अध्यक्ष सुन्दरमोहन शाक्य,प्याब्सनका पूर्व जिल्ला अध्यक्ष इन्द्रकुमार गुरुङ, जिल्ला उपाध्यक्ष देवराज गुरुङ,अभिभावकहरु शंकर श्रेष्ठ र कुमार सिवा लगायतले सम्बोधन गर्नु भएको थियो । लिटलबुद्धका बिद्यालय व्यवस्थापन समिति सदस्य तथा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराई,रेडियो तमोरका स्टेशन म्यानेजर बसन्त पालुङ्वा,रेडियो काबेलीका स्टेशन म्यानेजर दिनेश लिङखिम,रासस तथा इमेज टिभीकर्मी सन्तोष पुर्कुटी,तालिममा सहभागी एनसिसी क्याडेटका अभिभावक सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts