चुनावी बाचामा अडिग फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष ः आफुले पाउने मासिक सुबिधा वापतको करिव ६ लाख रुपैयाँ छुट्टै कोष बनाई जम्मा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ११ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लावुङ लिम्बूले आफुले पाउने अहिले सम्मको मासिक सुबिधावापतको करिव ६ लाख रुपैयाँ सामाजिक संस्थाको कोषमा जम्मा गरी गाउँपालिकाबासीको हितमा खर्च गर्ने गरी घोषणा गर्नु भएको छ । उहाँले आफुले पाउने ५ लाख ८६ हजार ८ सय रुपैयाँ फक्ताङ्लुङ डेभलपमेन्ट फाउण्डेसन नामक संस्थाको कोषमा जम्मा गरेको घोषणा गर्नु भएको हो । आगामी आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले आफ्नो मासिक सुबिधा अबबाट यहिँ कोषमा जम्मा गर्ने बताउनु भएको छ । उम्मेदवार हुँदै उहाँले यो सुबिधा नलिने घोषणा गर्नु भएको थियो ।
अध्यक्षले प्रयोग गर्ने सवारीबाट २ सय ६५ ले पाए सुबिधा
मासिक सुबिधा नलिने र पालिका अध्यक्षले प्रयोग गर्ने सवारी पालिकाका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान प्रयोग गर्ने बताउनु भएका लिम्बूले प्रयोग गर्ने सवारीबाट २ सय ६५ जनाले सुबिधा पाएको गाउँपालिकाले जनाएको छ । अध्यक्ष लावुङले पालिकाले २ थान एम्बुलेन्स खरिद गर्ने प्रकृया चलिरहेको बताउँदै एम्बुलेन्स प्राप्त भएपछि अहिले बिरामी ओसारपसारमा प्रयोग भइरहेको सवारीलाई कार्यालय र अन्य बिशेष प्रयोजनमा प्रयोग गर्ने गाउँपालिकाले नीति लिएको बताउनु भएको छ ।
जिल्लाकै क्याम्पसमा पढे फक्तालुङका बिद्यार्थीले उच्च शिक्षा छात्रबृत्ति पाउने
गाउँपालिकाले स्थायी ठेगाना फक्ताङ्लुङ गाउँपालिका भएका फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा नियमित अध्ययन गर्ने बिद्यार्थीलाई उच्च शिक्षा अध्ययन छात्रबृत्ति प्रदान गर्ने भएको छ ।  जिल्ला भित्रकै क्याम्पसमा अध्ययन गर्न प्रोत्साहित गर्ने र उच्च शिक्षा अध्ययन गर्ने पालिकाका बिद्यार्थीलाई छात्रबृत्ति समेत दिने दोहोरो लाभ हुनेगरी लागि यो कार्यक्रम सुरु गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । फक्ताङ्लुङ गाउँपालिकामा माध्यमिक तह(कक्षा १२)सम्म मात्र अध्ययन सुबिधा उपलब्ध छ । गाउँपालिकाले पालिकाको वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालय र वडा नं ६ लेलेपस्थित सरस्वती च्यारिबुक माध्यमिक बिद्यालयमा आगामी बर्षभित्र छात्रावास सहितको भवन निर्माण गर्ने भएको छ । उल्लेखित यि दुबै बिद्यालयहरुमा ईञ्जिनियरिङ,कृषि र पशु विज्ञान अध्यापन कार्य सुरु गर्न पहल गर्ने गाउँपालिकाले नीति लिएको छ ।
जङ्क फुडमा प्रतिवन्ध,दिवा खाजामा पालिकाबाट रकम थप
गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत बिद्यालयहरुमा बिद्यार्थीलाई दिवाखाजामा जङ्कफुड प्रतिवन्ध गरेको छ । उसले स्थानीय उत्पादनको प्रयोगलाई अनिवार्य गर्ने नीति लिएको छ भने दिवाखाजावापत संघीय सरकारबाट प्राप्त हुने प्रतिबिद्यार्थी १५ रुपैयाँमा ५ रुपैयाँ पालिकाकोतर्फबाट थप गर्ने घोषणा गरेको छ ।
उच्च हिमाली क्षेत्रमा आपतकालिन अक्सिजन सिलिण्डर राखिने
उच्च हिमाली क्षेत्र पुग्ने पर्यटकहरुको स्वास्थ्य सम्बेदनशिलतालाई दृष्टीगत गरी फक्ताङ्लुङ गाउँपालिकाले कञ्चनजंघा आधार शिविर सहितका क्षेत्रमा आपतकालिन अक्सिजन सिलिण्डर सहितका उपकरण राख्ने भएको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार कञ्चनजंघा आधार शिविर पाङ्पेमा सहित लोनाक,खम्बाछेन,याङ्मा,मौवाटार,सिङ्जेमा ताल र टिपताला भञ्ज्याङ्मा यो सुबिधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको छ ।
पर्यटकीय पदमार्ग स्तरोन्नती गरिने
गाउँपालिकाले अम्जिलेसा–ठयाङ्गेम–ग्याब्ला–घुन्सा–खम्बाछेन हुँदै कञ्चनजंघा आधार शिविर(नर्थ बेसक्याम्प)सम्मको पदमार्ग,हेल्लोक–लासाङ–तोरोङ्देन–चाईराम हुँदै कञ्चनजंघा आधार शिविर(साउथ बेसक्याम्प)सम्मको पदमार्ग,ग्रेट हिमालयन ट्रेल अन्र्तगत घुन्सा–नाङगोला–ओलाङचुङगोला हुँदै लुम्बासुम्बा पदमार्ग,ग्याब्ला–हाँसपोखरी हुँदै ओलाङचुङगोला पदमार्ग,सेकाथुम–लोवाडाँडा,लोवापोखरी–हाँसपोखरी–ग्याब्ला–घुन्सा पदमार्ग,सेकाथुम–लोवाडाँडा,लोवापोखरी–हाँसपोखरी–जोङ्गिन–ओलाङचुङगोला–सिङ्जेमा तालसम्मको पदमार्ग,खेजेनिम–वाग्मापोखरी–मानाभरा–सिरेगु–माङ्छाँगा–मुरिङलाडाँडा पदमार्ग,तापेथोक–वोईताङ्गु हुँदै पाथीभरा मन्दिर जाने पदमार्ग,सिँवा–लिङखिम हुँदै पाथीभरा मन्दिर सम्मको पदमार्ग र सावादिन–बाघथला–वाग्मापोखरी हुँदै फुङ्फुङ्गे झरना सम्म पुग्ने पदमार्गको स्तरोन्नती गर्ने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts