मैवाखोलाको नीति ः स्वरोजगार कार्यक्रममा सहुलियत दरको ऋण दिन कोष स्थापना,वडाको कार्य सम्पादनका आधारमा बजेटमा घटबढ हुने,जनप्रतिनिधि कर्मचारीका लागि आचार संहिता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालनका लागि सहुलियत दरमा ऋण पुँजी उपलब्ध गराउन छुट्टै कोष स्थापना गर्ने भएको छ ।

१३ औं अधिबेशनमा पालिका अध्यक्ष बिजयप्रकाश वनेमले आइतवार आगामी आर्थिक बर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारी सृजना र बेरोजगारीको अन्त्यमा जोड दिनु भएको छ । पालिकाले पालिकाभित्रका बेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन गरी उनीहरुको सीप,क्षमता र अनुभवका आधारमा ‘अध्यक्ष रोजगार कार्यक्रममा’आवद्ध गराउने बताएको छ । पालिकाले विकास र रोजगारी सृजनाका लागि सार्वजनिक–नीजि साझेदारी अभियान अघि बढाउने भनेको छ ।  खाद्यान्न तथा नगदेवालीको उत्पादकत्व बृद्धिका लागि आकाशेपानीको निर्भरता शुन्यमा झार्ने,खेतियोग्य जमिनको वर्गिकरण गरी कम्तिमा १ सय ५० हेक्टर क्षेत्रफलमा सिचाँई सुबिधा उपलब्ध गराउने,सुख्खा क्षेत्र पहिचान गरी आकाशे पानी संकलन गरी प्लाष्टिक पोखरी बनाउने गरी सम्भाव्यता अध्धयन गर्ने,कृषि उपजको सम्भावना रहेका क्षेत्रलाई स्थानीय सुगमता र माटो सुहाउँदो खेतिको ‘पकेट क्षेत्र’बनाउने पालिकाको घोषणा छ ।

पालिकाले पर्यटन प्रवद्र्धन अन्तरगत लोपोन्मुख रेडपाण्डाको अध्ययन,सर्बेक्षण र संरक्षणका कार्यक्रम अघि बढाउने भएको छ । मिल्के जलजलेस्थित झ्याउँपोखरी क्षेत्रमा निर्माणाधिन गुराँस पार्कले आगेटेको करिव २० हेक्टर क्षेत्रफलको जग्गा गाउँपालिकाको स्वामित्वमा ल्याउने तथा उक्त पार्कलाई पालिकाको गौरवको रुपमा विकास गर्दै यसलाई पर्यटन प्रवद्र्धन केन्द्रमार्फत पालिकाको आयस्रोतको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पर्यटकिय दृष्टीले महत्वपूर्ण रहेको झ्याउँपोखरी–मिल्के–गोरुजुरे–सभापोखरी देखि वसाङलुङ हुँदै सिन्धोलुङ झरनासम्मको क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना रहेको छ ।

पालिकाले स्थानीय स्रोत,साधन र कच्चा पदार्थमा आधारित उद्योगको प्रवद्र्धन एवम् सीप विकासमा जोड दिने नीति लिएको छ । लघु,घरेलु तथा साना उद्योग व्यवसायमा आर्कषण बढाई आर्थिक विकास र स्वरोजगार सृजना गर्ने पालिकाले भनेको छ । यसका लागि आवश्यक पर्ने नीति तथा संस्थागत सुधारका योजना तत्कालै पूरा गर्ने पालिकाले नीतिमार्फत घोषणा गरेको छ । दलित,महिला,अपाङ्गता र फरक क्षमता भएका व्यक्ति र बिपन्न वर्गलाई स्वरोजगार र व्यवसायिक बनाउने,व्यवसायिक सम्भावना भएका क्षेत्र र स्थानीय स्रोत साधनको अध्धयन गरी एकिकृत प्रतिबेदन बनाई सोहि अनुसार लघु तथा घरेलु उद्यमलाई प्राथमिकता दिने,बैदेशिक रोजगारीबाट फर्किएका उद्यम व्यवसाय सञ्चालन गरी प्रोत्साहित गर्न आवश्यक प्रविधि र थप व्यवसायिक सीप हस्तान्तरण गर्न गाउँपालिकाले जोड दिने भएको छ ।

बिद्यमान लघु उद्यमीलाई एकिकृत गरी लघु उद्यम सहकारी बनाउने पालिकाले नीति लिएको छ । पालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको नियमनलाई प्रभावकारी बनाई निश्कृय अवस्थाका सहकारी संस्थालाई आवश्यकता अनुसार गाभ्ने र खारेज गर्ने गाउँपालिकाको नीति रहेको छ । उसले सक्रिय सहकारी संस्थालाई क्षमता विकासमा सघाउने र सहकारी शिक्षालाई थप बिकेन्द्रित गर्ने र उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने घोषणा गरेको छ । गाउँपालिकाले ‘नतिजामुखी प्रशासन,विकास,समृद्धि र शुसासन’भन्ने नारा अघि सारेको छ ।

गाउँपालिकाले आफ्नै बहुउद्देश्यीय प्रशासकिन भवनमार्फत सरल,सहज तथा पहुँचयोग्य सेवा प्रवाहको नीति लिएको जनाएको छ । कार्यालय व्यवस्थापनसंग सम्वन्धित सम्पूर्ण कुराहरुलाई वैज्ञानिक,व्यवस्थित तथा सूचना प्रविधिमैत्री बनाउने,गाउँसभाबाट स्वीकृत संगठन संरचना तथा दरबन्दी लागु गरी दरबन्दी अनुसारका प्रत्येक कर्मचारीको कार्य बिबरण तयार गरी लागु गर्ने,गाउँपालिकाबाट प्रत्येक वडाबाट भएको विकास निर्माण,सेवा प्रवाह,राजश्व संकलन र कार्य सम्पादनका आधारमा उत्कृष्ट वडालाई पुरस्कार तथा थप अनुदानको प्रवन्ध गर्ने पालिकाले बताएको छ । कर्मचारीलाई समेत कार्य सम्पादन मूल्याङ्कनका आधारमा दण्ड तथा पुरस्कारको प्रवन्ध गर्ने पालिकाको नीति रहेको छ ।

न्यायिक समितिलाई थप व्यवस्थित गरी कार्य सम्पादनलाई प्रभावकारी बनाउने,सबै वडा कार्यालयहरुमा स्थापना भएका मेलमिलाप केन्द्रहरुलाई शसक्तिकरण गरी मेलमिलाप हुने प्रकृतिका बिबादहरु वडा स्तरमै निरुपण गर्नेगरी कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने पालिकाको नीति रहेको छ । गाउँपालिकाले जनप्रतिनिधि कर्मचारीको आचार संहिता निर्माण गरी कार्यान्वयन गर्ने भएको छ । सेवा प्रवाहलाई थप सरल बनाउँदै कार्य प्रणालीमा एकरुपता ल्याउन आवश्यकता अनुसार नीति तथा कार्यविधि निर्माण गरी स्थानीय राजपत्रमार्फत लिपिवद्ध गर्ने,मैवाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकाको सीमानामा पर्ने सिन्धोलुङ झरना र पालिकाको वडा नं ५ र ६ को सीमा बिबादलाई निरुपण गर्ने पालिकाले बताएको छ । पालिकाले आन्तरिक आयलाई बृद्धि गर्न तुलनात्मक लाभको क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने भएको छ ।

करदातालाई स्वेच्छिक रुपमा कर प्रणालीमा समावेश गराउँदै समग्र राजश्व प्रशासनलाई करदातामैत्री बनाउने,पालिकाका सम्पूर्ण करदाताको अनुगमन गरी तथ्याङ्क तथा अभिलेख अद्यावधिक गर्ने,प्रगतिशिल करप्रणालीमार्फत करदातालाई करप्रणालीमा स्वेच्छिक सहभागिताका लागि प्रोत्साहित गर्ने पालिकाको नीति रहेको छ । गाउँपालिकाले पालिकाका ठूला योजनाहरुको अनुगमन तथा मूल्याङ्कनमा तेस्रो पक्षलाई सहभागी गराउने नीति लिएको छ । योजना,तर्जुमा तथा कार्यान्वयनमा सरोकारवालाको अर्थपूर्ण सहभागिता गराउने र आवधिक विकास योजना, मध्यकालिन खर्च संरचनाको प्रभावकारिताको निरन्तर मूल्याङ्कन गर्ने पालिकाको नीति रहेको छ । पालिकाले वातावरण तथा स्वच्छन्दताका लागि पालिकाका मुख्य सडकहरुमा हरियाली क्षेत्र बनाउन वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने भएको छ । खाना पकाउने परम्परागत उर्जा प्रणालीलाई क्रमशःघटाउँदै बैकल्पिक उर्जा प्रणालीमा पालिकाले जोड दिएको छ । प्लाष्टिक तथा प्लाष्टिकजन्य सामाग्रीको प्रयोग र जलाउने कार्यलाई निरुत्साहित गर्न आवश्यक नीति बनाउने पालिकाको योजना रहेको छ ।

पालिकाले पालिका क्षेत्रका जमिनहरुको वर्गीकरणका लागि भू–उपयोग नीति अघि सारेको छ । वातावरणमैत्री वाल उद्यानहरुको विकास गर्ने,पर्यावरणको संरक्षण र प्रवद्र्धनका लागि प्रारम्भिक वातावरणीय परीक्षण सम्वन्धी स्थानीय कार्यविधि बनाउने पालिकाले नीति लिएको छ । पालिकाले स्थानीय बिपद् व्यवस्थापन,खानेपानी र सरसफाई,कला,भाषा,साहित्य र सम्पदाको संरक्षण,सडक,पक्की पुल र झोलुङ्गे पुल,मातृ स्वास्थ्य तथा नवजात शिशुको स्याहार तथा संरक्षणका अभियान सञ्चालन गर्ने भनेको छ । पालिकाले संघ,प्रदेश र स्थानीयतहबाट सञ्चालित खानेपानी तथा सरसफाई सम्वन्धी योजनालाई एकिकृत रुपमा सञ्चालन र नियमन गर्ने नीति लिएको बताएको छ । मैवाखोला आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने ताप्लेजुङकै पहिलो स्थानीय तह समेत भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts