ताप्लेजुङमा चैत २६ बाट प्रदेश र जिल्ला सहित छ समूहको ब्याड मिन्टन प्रतियोगिता हुँदै

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २४ । ताप्लेजुङमा चैत २६ गते देखि प्रदेश तथा जिल्ला स्तरीय छैटौं मेयर कप ब्याड मिन्टन प्रतियोगिता हुने भएको छ ।

आयोजक जिल्ला ब्याड मिन्टन संघका अध्यक्ष सुरेश सिघंकका अनुसार प्रतियोगितामा ६ समूहका खेलहरु सञ्चालन हुने भएका छन् । प्रदेश स्तरीय पुरुष एकल ब्याड मिन्टन प्रतियोगिताका बिजेताले २५ हजार र उपबिजेताले २० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमीफाइनलमा पुग्नेले ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप नगद प्राप्त गर्नेछन् । कोशी प्रदेश स्तरीय मिश्रित युगल प्रतियोगिताका बिजेताले २० हजार र उपबिजेताले १५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमीफाइनलमा पुग्नेले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक जिल्ला ब्याड मिन्टन संघले जनाएको छ । जिल्ला स्तरीय ‘बि’लेभलको युगल प्रतिश्पर्धाका बिजेताले १५ हजार र उपबिजेताले १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।

भेट्रान्स डबलतर्फका बिजेताले १५ हजार र उपबिजेताले १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् । जनप्रतिनिधि र कर्मचारीबिच हुने प्रतियोगिताका बिजेताले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा १५ बर्ष मुनि उमेर समूहको महिला र पुरुष एकल प्रतियोगिताका बिजेताले ६ हजार र उपबिजेताले ४ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने जिल्ला ब्याड मिन्टन संघले जनाएको छ ।

प्रतियोगिता अन्तरगत प्रदेश स्तरीय पुरुष एकल ब्याड मिन्टन प्रतियोगिता र १५ बर्ष मुनि उमेर समूहको महिला र पुरुष एकल प्रतियोगिताको प्रवेश शुल्क क्रमशःएक हजार रुपैयाँ र दुईसय रुपैयाँ तोकिएको छ । बाँकी सबै समूहका प्रतियोगिताको प्रवेश शुल्क दुई हजार रुपैयाँ निर्धारण गरिएको जिल्ला ब्याड मिन्टन संघका अध्यक्ष सिंघकले जानकारी दिनुभयो । प्रतियोगिताको खेल तालिका बुधवार बिहान प्रकाशित गर्ने योजना रहेको आयोजकले जनाएको छ । प्रतियोगिता चैत २६ देखि २८ गतेसम्म फुङलिङ–६ स्थित इन्द्रेणी ब्याड मिन्टन हलमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा फुङलिङ नगरपालिका र नगरपालिका क्षेत्रका ११ वटै वडा कार्यालयको संयोजन रहेको जिल्ला ब्याड मिन्टन संघले जानकारी दिएको छ ।

Similar Posts