८४६ निर्वाचन प्रहरीको सामुहिक बिदाई

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २८ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले मातहतका ८ सय ४६ निर्वाचन प्रहरीलाई बिहीबार एक साथ बिदाई गरेको छ ।

फागुन २१ गतेको निर्वाचनका लागि भर्ना लिई कार्यक्षेत्रमा रहेका ८ सय ४६ निर्वाचन प्रहरीको एकसाथ बिदाई गरिएको जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमले जानकारी दिनुभयो । भर्ना लिईएका निर्वाचन प्रहरीलाई जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय दोभान र तेल्लोक मातहत निर्वाचनका क्रममा खटाईएको थियो । ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालय मातहत ८ सय ४६ जना तथा सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्ममार्फत ४६ जना निर्वाचन प्रहरी परिचालित गरिएको थियो । दुबै निकायमार्फत ताप्लेजुङमा ८ सय ९२ जना निर्वाचन प्रहरीलाई भर्ना लिईएको थियो ।

९० हजार ३ सय २७ मतदाता रहेको ताप्लेजुङमा ८० मतदान स्थल तथा १ सय २७ मतदान केन्द्र रहेका थिए । निर्वाचन अवधिमा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,निर्वाचन प्रहरी र अनुसन्धानका गरी करिव १ हजार ५ सय सुरक्षाकर्मी परिचालित गरिएको थियो । निर्वाचनका क्रममा प्रत्येक केन्द्रमा एकजना अधिकृत,एकजना सहायक मतदान अधिकृत,तीनजना सहयोगी कर्मचारी र एकजना कार्यालय सहयोगी र स्वयंसेवक परिचालित गरिएको थियो ।

फागुन २१ गते मतदान सम्पन्न भई हिमाली बस्ती ओलाङचुङगोला,याङ्मा,घुन्सा र ग्याब्ला मतदान केन्द्र बाहेक अरु सबै केन्द्रमा मतपेटिका उसैदिन राति र उल्लेखित ४ केन्द्रका मतपेटिका फागुन २२ गते बिहान ९ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याईएको थियो । फागुन २२ गते अपरान्हदेखि मतगणना सुरु गरी फागुन २३ गते राति ९ बजे अन्तिम परिणाम घोषणा गरिएको थियो । समानुपातितर्फको समेत मतगणना सम्पन्न भई निर्वाचनका सबै कार्यक्रम सकिएपछि निर्वाचन प्रहरीलाई बिहीबार सामुहिक रुपमा बिदाई गरिएको जिल्ला सनर्वाचन समन्वय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।

Similar Posts