थेबे,तुम्याहाङ र राईद्धारा निर्वाचन खर्च विवरण पेश
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २८ । प्रतिनिधिसभाको निर्वाचनमा ताप्लेजुङबाट उम्मेदवार बनेकाहरुले धमाधम निर्वाचन खर्च विवरण पेश गर्न थालेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले उम्मेदवार क्षितिज थेबेले २२ लाख ४२ हजार ५२५ रुपैयाँ चुनावी खर्च भएको विवरण पेश गर्नु भएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालका अनुसार नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले २४ लाख ९३ हजार रुपैयाँको खर्च विवरण पेश गर्नु भएको छ । तुम्याहाङ थेबेका निटकतम् प्रतिश्पर्धी हुनुहुन्छ । यस्तै श्रम संस्कृति पार्टीका सन्तोष राईले ३ लाख १९ हजार ५४५ रुपैयाँको चुनावी खर्च विवरण पेश गर्नु भएको छ । आयोगले भौगोलिक अवस्थालाई आधार मानेर सुगम र दुर्गम जिल्लाका निर्वाचन क्षेत्रअनुसार फरकफरक खर्च सीमा तोकेको हो ।
आयोगले २५ लाख देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको थियो । ताप्लेजुङका उम्मेदवारले अधिकतम् ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउँथे । आयोगले दुर्गमता,यातायात पहुँच,जनसंख्या तथा भौगोलिक अवस्थालाई आधार मानेर खर्च सीमा निर्धारण गरेको हो । निर्वाचन ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्पूर्ण खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने प्रावधान रहेको छ । ताप्लेजुङमा फागुन २३ गते राति निर्वाचन परिणाम घोषणा भएको हो । यहाँ १३ राजनीतिक दलका १३ जना चुनावी प्रतिश्पर्धामा रहनु भएको थियो ।