फुङलिङका दुई बिद्यार्थी ल्यापटप सहित सम्मानित
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २६ । ताप्लेजुङको फुङलिङ नगरपालिकाले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई एक–एकथान ल्यापटप सहित सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवास्थित साङ्क देछ्योलिङ गोन्पा बिद्यालयका छात्र लार्के शेर्पा र छात्रा पेम्बाछिकी शेर्पा रहेका छन् । ११६ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस(नारी दिवस)को अवसर पारेर नगरपालिकाले उक्त सम्मान गरेको छ । बिद्यालयका प्रधानाध्यापक पासाङरिता शेर्पाका अनुसार लार्केले ३.९१ जिपिए र पेम्बाछिकीले ३.७४ जिपिए ल्याएका थिए ।
नगरपालिकाले नगरक्षेत्रका सामुदायिक बिद्यालयबाट उत्कृष्ट अंक ल्याउने एक छात्र र एक छात्रालाई हरेक बर्ष सम्मान गर्नेगरी नीति तथा कार्यक्रम ल्याएको थियो । बार्षिक स्वीकृत कार्यक्रम अनुसार सम्मान गरिएको फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले जानकारी दिनुभयो । नगरप्रमुख अमिर मादेन,उपप्रमुख भीमादेवी ओझा सहितले उक्त सम्मान बितरण गर्नु भएको नगरपालिकाले जनाएको छ ।