ताप्लेजुङ भ्रमण गरी आत्मबल बढाईदिएको भन्दै ताप्लेजुङ प्रशासनले प्रधानमन्त्रीलाई गर्यो आभार व्यक्त
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रतिनिधिसभा निर्वाचनका क्रममा ताप्लेजुङ आईपुगेर उच्च मनोवलका साथ कार्य सम्पादन गर्न अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै प्रधानमन्त्री सुशिला कार्कीप्रति आभार व्यक्त गरेको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भई परिणाम सहित सार्वजनिक भइसकेपछि सोमवार प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको आगमनले निर्वाचनका समग्र व्यवस्थापन तथा शान्ति सुरक्षालाई थप प्रभावकारी र मजवुत बनाउन उत्साहित तुल्याएको बताउनु भएको छ । निर्वाचनको तयारी र व्यवस्थापन सहितका बिषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको छलफलका लागि प्रधानमन्त्री कार्की गत फागुन १ गते ताप्लेजुङ आउनु भएको थियो ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचनको प्रभावकारी व्यवस्थापनका लागि प्राप्त मार्गदर्शन,सहयोग,समन्वय,सहजीकरणका लागि गृहमन्त्री,निर्वाचन आयोग,गृहसचिव,कोशी प्रदेशका प्रमुख सचिव,गृह मन्त्रालयका महाशाखा प्रमुख,प्रदेश सरकारका सचिव,सुरक्षा निकायका प्रमुखहरुलाई समेत धन्यवाद दिएको छ । ताप्लेजुङका ९ वटै स्थानीय तहका प्रमुख सहितका जनप्रतिनिधि र प्रशासकीय प्रमुखहरुबाट प्राप्त सहयोग प्रति समेत प्रशासन कार्यालयले आभार व्यक्त गरेको छ । निर्वाचनलाई मर्यादित बनाउन योगदान पुर्याउने मुख्य निर्वाचन अधिकृत,सहायक निर्वाचन अधिकृत,जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु,जिल्ला निर्वाचन अधिकारी,अनुगमन अधिकृत,राष्ट्रसेवक कर्मचारी,सञ्चारकर्मी,शिक्षक एवम् सुरक्षाकर्मीप्रति समेत प्रशासन कार्यालयले आभार प्रकट गरेको छ ।
निर्वाचन आचार संहिताको पालना गर्दै उच्च स्तरको राजनीतिक संस्कार प्रर्दशन गरेको भन्दै प्रशासन कार्यालयले सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ । मतगणना र विजय उत्सवलाई संयमित र अनुशासित भई शान्ति सुरक्षामा खलल हुन नदिन दिएको योगदानप्रति समेत प्रशासन कार्यालयले आभार व्यक्त गरेको छ । प्रशासन कार्यालयले सबैपक्षबाट आगामी दिनमा समेत यस्तै रचनात्मक सहयोग र समन्वयको अपेक्षा समेत लिएको छ ।