ताप्लेजुङ प्रशासनले भन्यो‘होली पर्व आफ्नो घर र आफन्तमा सिमित राखी घरभित्रै मनाउनू’
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले होली पर्वलाई आफ्ना परिवार,आफन्त र साथीभाईमा सिमित राखी अरुलाई बाधा नपर्नेगरी आफ्नै घर र कमाउण्ड भित्र सभ्य र शान्तपूर्ण बनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले निर्वाचन आचार संहिता पालनामा कुनै प्रतिकुल असर नपर्नेगरी सभ्य,भव्य एवम् सुसंस्कृत रुपमा होली पर्व मनाउन जिल्लाभरीका नागरिक समक्ष आग्रह गर्नु भएको छ । प्रशासन कार्यालयले कसैको एच्छा विपरित जबरजस्ति रंग दल्ने,पानीको लोला हान्ने,फोहोर पानी वा हिलो छ्याप्ने जस्ता कार्य नगर्न,सार्वजनिक स्थलमा होहल्ला गर्ने,झै–झगडा गर्ने,मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने वा सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुग्नेगरी कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रशासन कार्यालयले अनावश्यक खर्च तथा भड्किलो प्रर्दशन नगर्न,सार्वजनिक सडकमा भीडभाड नगर्न,मेला महोत्सव सञ्चादन नगर्न र चर्को ध्वनी यन्त्रको प्रयोग गरी सांगितक कार्यक्रम गर्नमा समेत रोक लगाएको छ । प्रशासन कार्यालयले कानुनद्धारा वर्जित कुनैपनि प्रकारका कुनै पनि क्रियाकलाप नगर्न नगराउन तथा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को आचार संहिता प्रतिकुल हुने कुनै कार्य नगर्न नगराउन समेत आग्रह गरेको छ । प्रशासन कार्यालयमा आवह्वान गरेको सार्वजनिक सूचना प्रतिकुल हुने कार्य भएमा कानुन अनुसार कडा कारवाही हुने चेतावनी समेत दिएको छ ।