फागुन २१ गतेका दिन ताप्लेजुङमा सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा रोक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले प्रतिनिधिसभाको निर्वाचनको दिन फागुन २१ गते सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार निर्वाचन ऐन २०७३,निर्वाचन आचार संहिता २०८२,सवारी साधनको अनुमति सम्वन्धी कार्यविधि २०८२ र निर्वाचन आयोगको फागुन ११ गतेको निर्णय समेतका आधारमा फागुन २१ सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाईएको हो ।

दमकल,एम्बुलेन्स,शववाहन,खानेपानीको ट्याङकर,दुध,फलफूल,तरकारी,माछा,मासु,पेट्रोलियम पदार्थ बोकेका गाडी,दूर सञ्चार सेवा,खानेपानी,विद्युत,ढल मर्मतका लागि प्रयोग हुने सवारी साधन,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घर देखि अस्पताल र अस्पताल देखि घरसम्म आवतजावत गर्न प्रयोग गरिने सवारी,हिडडुल गर्न नसक्ने गर्भवति महिला,सुत्केरी,साथमा आफैं बच्चा बोकेकी महिला,किरियापुत्री,शारीरिक रुपले अशक्त,अपाङ्गता भएका व्यक्ति,हिडडुल गर्न नसक्ने जेष्ठ नागरिक मतदाता र निजका एकजना सहयोगी बोकेको साधन,नम्बर प्लेटमा सि.डी उल्लेख भएका कुटनीतिक नियोगका सवारी साधन,आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रबाहक परिवेक्षणकर्ताले प्रयोग गर्ने सवारी साधन,मानव अधिकार आयोगबाट अनुगमन र पर्यवेक्षणबाट खटिई आएका प्रतिनिधि बोकेको गाडी,प्रेस पास भएका सञ्चारकर्मीका साधन,एवम् स्थानीय प्रशासनबाट अनुमति प्राप्त सवारी साधन भने सञ्चालन हुन सक्ने प्रशासन कार्यालयले जनाएको छ ।

अनुमति लिएका सवारी साधनले सम्वन्धित प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने समेत प्रशासन कार्यालयले जनाएको छ । यसरी सञ्चालन भएका सवारी साधन चेकजाँचको क्रममा अन्यथा पाईए कानुन अनुसार कारवाही हुने समेत प्रशासन कार्यालयले स्पष्ट पारेको छ । प्रशासन कार्यालयले सवारी साधनको अनुमति सम्वन्धी कार्यविधि २०८२ अनुसूची–४ बमोजिम तथा निर्वाचन आयोगको फागुन १५ गतेको निर्णय अनुसार सिफारिस सहितको सवारी साधन आवश्यक भएमा मतदानको दिन भन्दा दुई दिन अगावै अनुमति लिइसक्नुपर्ने समेत प्रशासन कार्यालयले भनेको छ ।

Similar Posts