मतगणना कार्य पूरा नभइञ्जेलसम्म ताप्लेजुङ जिल्लाभर ड्रोन उडानमा प्रतिवन्ध
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १७ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतवारबाट प्रतिनिधिसभाको निर्वाचन र मतगणना कार्य सम्पन्न नभइञ्जेलसम्मका लागि कुनैपनि प्रकारको ड्रोन उडान तथा सञ्चालनमा प्रतिवन्ध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईले फागुन १८ गते देखि मतगणना कार्य सम्पन्न नभईञ्जेलसम्मका लागि कुनैपनि प्रकारको ड्रोन उडान तथा सञ्चालनमा रोक लगाईएको जानकारी दिनुभयो । प्रतिनिधिसभाको निर्वाचन स्वच्छव,निश्पक्ष,पारदर्शी र भयरहित रुपमा सम्पन्न गर्न कुनैपनि प्रकारको ड्रोन उडान तथा सञ्चालनमा प्रतिवन्ध गरिएको भट्टराईले बताउनुभयो । उहाँले ड्रोन उडान तथा सञ्चालनमा गरिएको प्रतिवन्ध विपरितका कार्य कसैले गरेमा कानुन अनुसार कारवाही हुने समेत जानकारी दिनुभयो ।
यसअघि गत मंसिर पहिलो साता जिल्ला प्रशासन कार्यालयले कानुनी प्रावधान पालना गरेर मात्र मानव रहित हवाई उपकरण(ड्रोन)को उडान गर्न गराउन भनेको थियो । उतिबेला प्रशासन कार्यालयले नागरिकको गोपनियता,व्यक्तिगत सुरक्षा र सामरिक प्रभाव समेतलाई ध्यान दिई सुरक्षा सम्बेदनशिलताका आधारमा ड्रोन उडान गर्नुपूर्व कानुनी प्रावधान पूरा गर्नुपर्ने बताएको थियो । फागुन १८ गतेको निर्णय अनुसार भने प्रशासन कार्यालयले ड्रोन उडान तथा सञ्चालनका लागि अनुमति दिने छैन भने मतगणना कार्य पूरा नभइञ्जेलसम्मका लागि उडानमै प्रतिवन्ध गरेको छ ।