ताप्लेजुङका ४ हिमाली क्षेत्रका मतदान केन्द्रमा मतदान सामग्री सहित खटिए कर्मचारी
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १५ । ताप्लेजुङको चार हिमाली बस्तिका निर्वाचन केन्द्रहरुमा शुक्रवार मतदान अधिकृत सहित निर्वाचन सामग्री पठाईएको छ ।
जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार हिमाली बस्ति याङ्मा,ओलाङचुङगोला,घुन्सा र ग्याब्ला मतदान केन्द्रमा निर्वाचन सामग्री सहित मतदान अधिकृत,सहायक मतदान अधिकृत,सहायक कर्मचारी,कार्यालय सहयोगी र सुरक्षाकर्मी सहितको टोली प्रस्थान गरेको हो । शुक्रवार बिहान ओलाङचुङगोलाका मतदान अधिकृत डम्बरबहादुर आङदेम्बे,ग्याब्लाका मतदान अधिकृत बिमल गौतम,घुन्साका मतदान अधिकृत देवेन्द्र मेन्याङ्वो र याङ्माका मतदान अधिकृत माधव खड्काले मतपत्रसहितका निर्वाचन सामग्री बुझेर सम्वन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेका जिल्ला निर्वाचन समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।
याङ्मा बस्ति समुद्र सहतबाट चार हजार दुईसय मिटर उचाईमा रहेको छ । भौगोलिक हिसावले कठिन रहेको याङ्मा बस्ति ओलाङचुङगोला हुँदै जानु पर्छ । घुन्सा तीनहजार ४७५ मिटर उचाईमा रहेको छ । तीनहजार २३२ मिटर उचाईमा रहेका फलेका बासिन्दाले घुन्सामै पुगेर मतदान गर्छन् । तीन हजार दुईसय मिटर उचाईमा रहेको ओलाङचुङगोला झुरुप्प परेको पर्यटकीय बस्ती हो । मौसममा देखिएको बदली र सम्भावित यात्रा जोखिमलाई समेत ध्यानमा राखी फागुन १५ बाटै उपल्लो क्षेत्रका मतदान केन्द्रमा खटिने कर्मचारी र निर्वाचन सामग्री पठाईएको प्रमुख जिल्ला अधिकारी सेढाइँले जानकारी दिनुभयो ।
सेढाइँका अनुसार फागुन १७ गतेसम्ममा सबै मतदान अधिकृत सहितका कर्मचारी सम्वन्धित मतदान केन्द्रमा पुगी १८ गते स्थानीयसंगको उपस्थितिमा बैठक बस्ने देखि अनुसूची अनुसारका सूचना प्रकाशित गर्नुपर्ने हुन्छ । प्रजिअ सेढाँइ,दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का,जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय सहितले उपल्लो हिमाली क्षेत्रमा जाने मतदान अधिकृत सहितका कर्मचारीलाई बिदाई गर्दै निश्पक्ष,भयरहित,शान्तपूर्ण र विबादरहित हिसावले चुनाव सम्पन्न गरी मतपेटिका समेतको प्रभावकारी सुरक्षा गरी लिएर फर्कन बिदाई गर्नु भएको छ ।