सद्भाव शान्ति र्याली तथा शुभकामना आदान–प्रदान गर्दै ताप्लेजुङमा मनाईयो २१५३ औं ग्याल्पो ल्होसार
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ९ । २१५३ औं ग्याल्पो ल्होसार पर्वको अवसर पारेर शनिवार ताप्लेजुङमा सद्भाव शान्ति र्याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शेर्पा संघ ताप्लेजुङको आयोजनामा फुङलिङ वीरेन्द्रचौकबाट र्याली सुरु गरी नगर परिक्रमा पछि होटल जन्नु इनको सभाहलमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको नेपाल शेर्पा संघका जिल्ला अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले मुलुकका जाति,भाषा,धर्म,संस्कार र संस्कृतिको जर्गेनामा सबै पक्ष एकजुट भई सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिए । ग्याल्पो ल्होसार पर्वको अवसर शेर्पा समुदायमा आफ्नो गाउँघर,टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने,नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । स्याब्रु नृत्य,तुङ्गना (डम्याङ) को मधुर धुन र सामूहिक उल्लासले ग्याल्पो ल्होसारलाई अझ अर्थपूर्ण बनाउने यस पर्वका जानकारहरु बताउँछन् । नयाँ वर्षका रुपमा मनाइने यो पर्वले नयाँ आशा, उमङ्ग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने पनि विश्वास छ। यो पर्वले परिवार, मित्रता र समुदायबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सृजना गर्दछ । सरकारले फागुन ६ गते ग्याल्पो ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा समेत दिएको थियो । ताप्लेजुङमा भने फागुन ९ गते शनिवार यो पर्व मनाईएको हो ।