महाशिवरात्री पर्वको अवसरमा ताप्लेजुङमा कलशयात्रा,सलामी अर्पण सहितका विविध कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ३ । महाशिवरात्री पर्वको अवसरमा नागेश्वर धाम मुहानक्षेत्र संरक्षण तथा विकास समितिले आइतवार फुङलिङमा कलशयात्रा सहित संगिनी नाच तथा श्लोक कविता जुहारी सहितका कार्यक्रम भइरहेका छन् ।

समितिका अध्यक्ष रामचन्द्र नेपालका अनुसार नागेश्वर धाम क्षेत्र फुङलिङ–४ बाट कलशयात्रा सुरु गरी नगर परिक्रमा सहित औपचारिक कार्यक्रममा समावेश भएको हो । त्यहाँ बैदिक सनातन धर्म संस्कार र संस्कृति अनुसारका विविध कार्यक्रम सञ्चालन हुनेछन् । नेपालका अनुसार भजन तथा गायन नृत्य,संगिनी गायन नृत्य,श्लोक कविता वा जुहारी प्रस्तुती,खाँडो जगाउने विधिको प्रस्तुती,सम्मान तथा उपहार बितरण र टीकापाति वितरण गरिने छ । उक्त धाममा शनिवार साँझ दीप प्रज्वलन,आरती र शिवार्चना सहित भजन किर्तन गरिएको थियो । धामको विकास र समृद्धिको अभियानका एक अगुवा तथा लिटलबुद्ध बोर्डिङ स्कुलका प्रिन्सिपल युवराज गिरीका अनुसार आइतवार बिहान स्वस्वर रुद्री पाठ, शिवार्चना सहितको यज्ञ अनुष्ठान र पूजापाठ गरिएको थियो । संविधानसभा सदस्य सञ्चपाल मादेन,फुङलिङ नगरप्रमुख अमिर मादेन सहितका व्यत्तित्वको उपस्थितिमा कार्यक्रम भएको आयोजक संस्थाले जानकारी दिएको छ ।

यसैबिच महाशिवरात्री पर्वको अवसरमा यहाँस्थित नेपाली सेनाको दुर्गादल गुल्म,जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सैनिक तथा प्रहरी कर्मचारीको टोलीले ब्याण्ड बाजा सहित फुङलिङ नगर परिक्रमा गर्दै फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवास्थित चण्डेश्वर महादेवथान सिद्धीडाँडा पुगेर सलामी अर्पण गरेको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ,दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक,प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय सहितको उपस्थिति रहेको फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङले जानकारी दिनुभयो ।

 

Similar Posts