निर्वाचन सम्वन्धी खर्चका लागि छुट्टै बैंक खाता खोली प्रयोगमा ल्याउन ताप्लेजुङका उम्मेदवारलाई पत्र
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ १९ । निर्वाचन आचार संहिता अनुगमन अधिकृतको कार्यालयले ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका १३ जनालाई बैंक खाता खोली सोहि खातामार्फत मात्र कारोवार गर्न लिखित पत्राचार गरेको छ ।
आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आचार संहिता अनुगमन अधिकृत तथा कोष नियन्त्रक यमनाथ गिरीका अनुसार उम्मेदवारले निर्वाचन सम्वन्धी खर्च गर्दा बैंक तथा बित्तीय संस्थामा खाता खोली सोहि खाताबाट मात्र खर्च गर्न पाउने व्यवस्था छ । सोहि व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन आचार संहिता अनुगमन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई पत्राचार गरेको गिरीले जानकारी दिनुभयो । राजनीतिक दल तथा उम्मेदवारले राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’‘ख’ र ‘ग’वर्ग का बैंक तथा वित्तीय संस्थामा खाता खोली खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी आर्थिक कारोवार गर्नुपर्ने प्रतिनिधिसभा निर्वाचन २०८२ आचार संहिताको दफा १६ मा भएको व्यवस्थाको कार्यान्वयन गर्न सबै उम्मेदवारलाई परिपत्र गरिएको गिरीले जानकारी दिनुभयो
। सरकारले मिति २०८२ साल पुस १२ गते जारी गरेको निर्वाचन आचार संहिताको दफा १६(क)मा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफुले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत समेत खुलाउनुपर्ने भनिएको छ । सोहि दफाको(ख)मा उम्मेदवारले निर्वाचन सम्वन्धी खर्च गर्दा बैक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोहि खाताबाट गर्नुपर्ने,नम्बर (ग)मा उम्मेदवारले निर्वाचन सम्वन्धी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवारी पदाधिकारी तोक्नुपर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्थाका आधारमा आचार संहिता अनुसारको खर्च प्रकृया पालनाका लागि दल तथा उम्मेदवारलाई पत्राचार गरिएको निर्वाचन आचार संहिता अनुगमन अधिकृतको कार्यालयले जनाएको छ । यस्तोखाता निर्वाचन सम्पन्न भइ निर्वाचन आयोगले निर्वाचन आयोगले निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने व्यवस्था रहेको छ ।