अक्षराम्भ गरेका ३५ बिद्यार्थीलाई लिटलबुद्धले गरिदियो बर्षदिनको शुल्क मिनाह
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ९ । सरस्वती पूजाको अवसर पारेर शुक्रवार ताप्लेजुङको लिटलबुद्ध बोर्डिङ स्कुलमा ३५ जनाले अक्षराम्भ गरेका छन् ।
बिद्यालयका प्रिन्सिपल युवराज गिरीले अक्षारम्भ गरेका बिद्यार्थीलाई बिद्यालयले बर्षदिनसम्मको शैक्षिक शुल्क मिनाह गरिएको घोषणा गर्नु भएको छ । गिरीका अनुुसार समन्वय समिति प्रमुख छिरिङ लामाबाट ४ जना,प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँबाट ११ जना,दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काबाट ९ जना,जिल्ला प्रहरी प्रमुख बेदप्रसाद गौतमबाट ४ जना सहित अन्य उपस्थित अतिथिका हातबाट अक्षराम्भ सुरु गरिएको गिरीले जानकारी दिनुभयो ।
शुक्रवार ताप्लेजुङ सहितका देशभरका बिद्यालयहरुमा सरस्वती पूजा गरिएको छ । यहाँस्थित ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुलले अभिभावक समेतको उपस्थितिमा कार्यक्रम गरेको प्रिन्सिपल इन्द्रकुमार गुरुङले जानकारी दिनुभयो । सरस्वती पूजाका दिनबाट अक्षराम्भ गरेपछि बिद्यार्थीहरु पढाईमा लगनशिल हुन्छन् भन्ने मान्यता रहेको छ । मौसमी चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छन् । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन,खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ ।
सरस्वती पुजाको दिनलाई‘बसन्त पञ्चमी’ भनिन्छ । ज्योतिष विज्ञान अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनु नपर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ । सरस्वती पूजाको दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । सरस्वती पूजाको दिनलाई अक्षराम्भको उपयुक्त साईत मानिन्छ ।