| |

‘प्रथम सहिद कप’ माघ १६ गतेदेखि

-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ९ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । यही माघ १६ देखि २१ गतेसम्म मिक्वाखोला गाउँपालिका–४ साँवाको थलङमा सहिद कप फुटबल प्रतियोगिता हुने भएको हो ।
शुक्रबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको छ । योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल मिक्वाखोला गाउँपालिका कमिटीले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
खेल संयोजक रनध्वज थलङ लिम्बूले देशको आमुल परिवर्तनसँगै संघीय गणतन्त्र नेपाल स्थापना गर्न जीवन बलिदान गर्ने सहिदहरुको स्मृति तथा सम्मानका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । थलङका अनुसार प्रथम सहिद कप फुटबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै उपविजेताले एक लाख एक हजार १११ रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । खेल संयोजक थलङका अनुसार प्रतियोगिता अन्तर पालिकास्तरीय भए पनि टोली (टिम) मा बढीमा तीन जनासम्म अन्य खेलाडीलाई समावेश गर्न पाइने छ । मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पा लामाको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको हो । महान् सहिदहरुको सम्मान, फुङ्फुङगे झरनासहित पर्यटकीय स्थलको प्रवद्र्धन गर्नेलगायत उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वाइसिएल नेपालका पालिका कमिटी इन्चार्ज दावानुपु शेर्पाले बताउनुभयो ।
यता प्रथम सहिद कप फुटबल प्रतियोगिता आयोजनाले १० वर्षे माओवादी जनयुद्धका ताप्लेजुङका प्रथम सहिद नरेन्द्र थलङ (सिङमान) लगायत देशका ज्ञातअज्ञात सहिदहरुको सम्मान हुने उपाध्यक्ष लामाले बताउनुभयो । पत्रकार सम्मेलनमा प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक नुपुछिरिङ शेर्पासहित आयोजकका अन्य पदाधिकारी उपस्थित हुनुभएको थियो ।

Similar Posts