प्रनानि यक्पाङदेन मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २७ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रहरी नायव निरीक्षक ऐतराज यक्पाङदेनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार विभागको मूल्य र मान्यता,आदेश निर्देशनको पालना गरी व्यवसायिक,लगनशील र कर्तव्यनिष्ट तवरले कर्तव्यपथमा तल्लिन रही उच्च मनोवलका साथ कार्य सम्पादन गरेका आधारमा यक्पाङदेनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । यक्पाङदेन जिल्ला प्रहरी कार्यालय मोरङको महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र दरबन्दी भई विगत लामो समय देखि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत रहनु भएको छ ।

यक्पाङदेनले लागुऔषध वारदातमा संलग्नलाई कानुनी दाहेरामा ल्याएको,कैद र जरीवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको र जेन जी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार कैदीबन्दीलाई पक्राउ गर्न सफल भएको आधारमा कर्तव्यनिष्ठ र जिम्मेवारीप्रति पूर्ण वफादार रही अनुशासित कार्य सम्पादन गरेको आधारमा पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ताप्लेजुङ प्रहरीले जेन जी आन्दोलनको क्रममा फरार रहेकामध्ये अहिलेसम्म तीनजनालाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मार्ग प्रसस्त गरिसकेको छ ।

Similar Posts