ताप्लेजुङमा रोकिएन भालुको आतंक
-प्रयास लिम्बू
ताप्लेजुङ, पुस १० । ताप्लेजुङमा जंगली जनावर भालुले निरन्तर आतंक मच्चाइरहेको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता भेडाबाख्रा खानुका साथै आक्रमण गरेर भालुले निरन्तर आतंक मच्चाइरहेको हो ।
गाउँबस्तीतिरै पसेर भालुले आतंक मच्चाइरहेको अर्थात क्षति गरिरहेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गत मङ्सिर २८ गतेदेखि फुङ्लिङ नगरपालिकामा भालुले भेडाबाख्रा खाएर खानुका साथै आक्रमण गरेर क्षति पु¥याइरहेको हो । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा मङ्सिर अन्तिमदेखि पुस ८ गते मंगलबार बिहानसम्म भालुले क्षति गरेको छ ।
एक साता बढी समयसम्म हाङ्देवाको धुपौरे गाउँमा किसानले पालेका भेडाबाखा्र खाएर आतंक मच्चाएको भालुले मंगलबार रातिदेखि वडा १० फुरुम्बुमा सरेर क्षति गर्न थालेको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार फुरुम्बुतर्फ सरेर आतंक मच्चाउन थालेको भालुले फुरुम्बुमा तीनवटा बाख्रा खाइसकेको छ ।
मङ्गलबार राति फुरुम्बु गढीडाँडाका स्थानीय मनिराज गुरुङको एउटा बाख्रा भालुले खाएको ओझाले जानकारी दिनुभयो । त्यस्तै बुधबार राति फुरुम्बुकै स्थानीय पोष्टबहादुर कार्कीका दुईवटा बाख्रा भालुले खाएको छ । खोर तथा गोठमा राखिएका बाख्राहरु भालुले खानुका साथै आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन् ।
यसअघि हाङ्देवाको बुङ्कुलुङ धुपौरे क्षेत्रमा करिव एक साताको अवधिमा विभिन्न किसानका एउटा भेडा र सातवटा बाख्रा भालुले खाएको थियो । त्यस्तै भालुले तीनवटा बाख्रालाई आक्रमण गरी घाइते बनाएको छ । यसरी एक ठाउँबाट अर्को ठाउँमा सर्दै भालुको आतंक नरोकिएपछि स्थानीयवासी त्रसित बन्न थालेका छन् । भालुको आतंक नरोकिएपछि सर्वसाधारण किसान रातभर जाग्राम नै बस्न थालेका बताइएको छ ।
यता स्थानीय किसानले पालेका पशुचौपाया जंगली भालुले खाएर आतंक मच्चाउन थालेपछि डिभिजन वन कार्यालयको अगुवाइमा प्रभावित क्षेत्रमा स्थलगत अनुगमनसमेत गरिएको छ । डिभिजन वन कार्यालयको अगुवाइमा सामुदायक वनका प्रतिनिधि, प्रहरी र स्थानीय जनप्रतिनिधिसमेत संलग्न रहेको सरोकारवालाको टोलीले भालुले क्षति गर्दै आएको ठाउँको स्थलगत अनुगमन गर्ने गरेको छ ।
बिहीबार पनि पाथीभरा सव डिभिजन वन कार्यालयका वन अधिकृत शिशुराज झा, जिल्ला समन्वय समितिका उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बू लगायतका सरोकार निकायका प्रतिनिधि संलग्न रहेको टोलीले फुरुम्बुमा स्थलगत अनुगमन गरेको छ ।
यता भालुको निरन्तरको आतंक नरोकिएपछि भालु नियन्त्रण गर्ने उद्देश्यले फलामे रडले निर्माण गरिएको खोर (पासो)समेत राखिएको छ । बुङ्कुलुङ धुरौरेका किसान नारायण भण्डारीको बाख्रा राख्ने खोरसँगै भालु नियन्त्रण गर्ने खोर राखिएको फेकोफनका जिल्ला अध्यक्ष ओझाले जानकारी दिनुभयो । हाङ्देवामा मंगलबार भालु नियन्त्रण गर्ने खोर राखिएको र सोही दिन रातिदेखि भने फुरुम्बुमा भालुले क्षति गर्न थालेको छ ।
यसरी भालुले एक ठाउँदेखि अर्को ठाउँ सर्दै निरन्तर पशुचौपाया क्षति गर्न (मार्न) थालेपछि स्थानीय चिन्तित बनेका छन् । भालुले पशुचौपाया मात्र नभई मानिसमाथि नै आक्रमण गर्नसक्ने भन्दै स्थानीयवासी त्रसितसमेत बन्दै आएका छन् । पशुचौपाया खाएर आतंक मच्चाउने भालु नियन्त्रण गर्ने वा खेदाउने उपायको खोजी गर्नुपर्ने विषय पनि किसानले उठाउन थालेका छन् ।