५० प्रतिशत अनुदानमा याक,नाक र चौंरी तथा छूर्पी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै फक्ताङलुङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा याक,नाक र चौंरी तथा छूर्पी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पालिकाको वडा नं ६ र ७ मा याक,नाक र चौंरी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि १५ लाख र छूर्पी प्रवद्र्धन कार्यक्रमका लागि ७ लाख रुपैयाँ खर्च गर्न लागिएको पालिकाले जनाएको छ । विगत तीनबर्ष यता अनुदान प्राप्त गर्ने अनुदानग्राही भने अनुदानमा याक,नाक र चौंरी तथा छूर्पी प्रवद्र्धन कार्यक्रमका लाभग्राही हुन नसक्ने समेत पालिकाले जनाएको छ । पालिकाले ५० प्रतिशत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न इच्छुक डेरी,फर्म,डेरी उद्योग,समूह र सहकारीहरुलाई अनुदान प्राप्तिका लागि पुस २३ गतेसम्ममा पालिकामा आबेदन दिन भनेको छ । नागरिकताको प्रतिलिपि,जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि र जग्गा भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपि,व्यवसाय,समूह,सहकारी दर्ता,नविकरण र कर चुक्ताको प्रमाणपत्र,स्व–घोषणा तथा प्रतिबद्धतापत्र समेत संलग्न राखी पालिकामा निबेदन दिन भनिएको छ ।

पालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार संघीय र प्रदेश सरकारद्धारा स्थानीय तहमा हस्तान्तरण भएको सर्शत वित्तीय पशुपंक्षि तथा मत्स्य विकास कार्यक्रम कार्यक्रम कार्यविधि २०८२ अनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । फक्ताङलुङ गाउँपालिकाको उपल्लो क्षेत्रमा याक,नाक,चौंरी र छूर्पीको उत्पादन उल्लेख्य मात्रामा हुने गरेको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ७ का वडाध्यक्ष छेतेन वालुङ शेर्पाले स्थानीयले पालेका याक र चौंरी सहितका उत्पादनको बिक्री बजार नभएको बताउँदै स्थानीयलाई दिगो जीविकोपार्जनमा सम्वन्धित पक्षको ध्यानाकर्षण गराउँदै आउनु भएको छ । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले बनाउँदै आएको पाँचौं पञ्चबर्षिय योजनाको मस्यौदा तयारीका क्रममा समेत उनले मस्यौदाकार टोलीसंग सिन्केधुप,याक,चौंरी र नाक सहितका किसान र पशुपालकलाई बजार व्यवस्थापन हुनसक्नेगरी योजना बनाउन सुझाउनु भएको थियो ।

 

Similar Posts