६ बिषयगत क्षेत्रलाई आधार मानी केसिएएमसीको पाँचौं पञ्चबर्षिय योजना बनाउन सुरु,प्रारम्भिक छलफल थालियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ७ । ६ मुख्य बिषयगत क्षेत्रलाई आधारमानी कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पाँचौं पञ्चबर्षिय योजना बनाउन प्रारम्भिक प्रकृया सुरु गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व उपमहानिर्देशक युवराज रेग्मी नेतृत्वको ५ सदस्यीय परार्मशदाताको टोलीले पाँचौं पञ्चबर्षिय योजनाको मस्यौदा तयारीको काम थालेको हो । उसले संरक्षण क्षेत्रका किसोङ्वा,ओलाङचुङगोला,लेलेप,हेल्लोक र तापेथोकका सरोकारवालासंग पञ्चबर्षिय योजनामा समावेश गर्नुपर्ने बिषयका बारेमा स्थलगत रुपमै छलफल गरेको छ । टोली संयोजक रेग्मीका अनुसार अब याम्फुदिनमा रहेका दुईवटा संरक्षित उपभोक्ता समितिका पदाधिकारी तथा सदस्य र स्थानीयसंग छलफल गरी योजनामा समावेश गर्नुपर्ने बिषयका बारेमा धारणा लिने छ । याम्फुदिन बाहेक अन्य क्षेत्रका स्थानीय सरोकारवालासंगको छलफल सकेर जिल्ला सदरमुकाम फुङलिङमा जिल्लास्थित सरोकारवालाको राय लिएको छ । याम्फुदिनका सरोकारवालासंगको छलफल सकिएपछि जिल्लाका सरोकारवालासंग अन्तिम राय लिएर पञ्चबर्षिय योजनाको मस्यौदा तयार गरी व्यवस्थापन परिषद्मा बुझाईने टोली संयोजक रेग्मीले जानकारी दिनुभयो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०६४ को नियम ९ बमोजिम परिषद्ले पञ्चबर्षिय योजनाको मस्यौदा तयार गरी स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेश गर्नुपर्ने हुन्छ । विभागले स्वीकृति प्रदान गरेपछि पञ्चबर्षिय योजना कार्यान्वयन गर्न परिषद्लाई बाटो खुल्ने छ ।

टोली संयोजक रेग्मीका अनुसार जैविक विविधता संरक्षण,पर्यापर्यटन,जलवायु परिवर्तन,जीविकोर्पाजन सुधार,संस्थागत विकास र अध्ययन अनुसन्धान तथा संरक्षण शिक्षा(अन्तर क्षेत्र)गरी ६ बिषयगत क्षेत्रका आधारमा पञ्चबर्षिय योजनाको मस्यौदा गर्न थालिएको हो । जैविक विविधता संरक्षण अन्तरगत दिगो व्यवस्थापन,बासस्थान व्यवस्थापन र प्रजाति संरक्षणलाई मुख्य आधार बनाईएको छ । प्रत्येक बिषयगत क्षेत्रका उपक्षेत्र निर्धारण गरी त्यसलाई समुदायको हित,संरक्षण र पक्षमा कसरी अघि बढाउने भन्ने बिषय पञ्चबर्षिय योजनामा रहने अध्ययन तथा मस्यौदा टोलीले बताएको छ । २०३५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको कञ्चनजंघा संरक्षण क्षेत्र समुदायद्धारा व्यवस्थापन गर्न जिम्मेवारी प्रदान गरिएको नेपालकै पहिलो संरक्षण क्षेत्र हो । २०५४ साल साउन महिनामा स्थापना भएको संरक्षण क्षेत्र २०६३ साल २०६३ साल भदौ ५ गतेको मन्त्रिपरिषद्को निर्णयले २०६३ साल असोज ६ गते व्यवस्थापनका लागि समुदायलाई हस्तान्तरण गरिएको थियो । संरक्षण क्षेत्रमा ७ प्रकारका वन,१२ प्रकारका पारिस्थितकीय प्रणाली,४५ प्रजातिका स्तनधारी प्रजाति,३ सय ३० प्रजातिका पंक्षि,६ प्रकारका सरिसृप,१५ प्रजातिका उभयचर,२१ प्रजातिका माछा,८३ प्रजातिका किरा फट्याङग्रा र ८ सय ४४ प्रजातिका फूलजन्य बिरुवा पाइने गरिएको छ । हिउँचितुवा,नाउर,रेडपाण्डा,ब्वाँसो सहितका संरक्षित प्रजाति पाइने अध्ययन टोलीले बताएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूका अनुसार संरक्षण क्षेत्रमा ७ वटा संरक्षित उपभोक्ता समिति,२६ वटा सामुदायिक वन,३५ वटा आमा समूह र ५ वटा सहकारी रहेका छन् । समृद्धि पहाड परियोजनाले व्यवस्थापन परिषद्को समन्वय र नियमनमा वित्तीय अभियानहरु सञ्चालन गरिरहेको छ । पाँचौं पञ्चबर्षिय योजनाको मस्यौदा तयार गरिरहेको टोलीलाई सरोकारवालाले दिगो जीविकोपार्जनमा टेवा पुग्ने,लक्ष्यलाई भेटाउने,प्रकृति र संस्कृतिको संरक्षण गर्दै विकास अघि बढाउन सकिने,स्थानीय समुदायलाई अनुकूलन हुने योजना समावेश गर्न सुझाव दिएका छन् । परार्मश तथा मस्यौदा टोलीमा रेग्मीका साथ बिष्णु अधिकारी,मिलन केसी,अर्जुन शर्मा र नारायण पन्थी रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अन्तरगत समृद्ध पहाड परियोजनाका परियोजना अधिकृत चन्द्रजंग हमालले जानकारी दिनुभयो ।

Similar Posts