ताप्लेजुङमा सुरु कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप फुटबल प्रतियोगितामा मैवाखोला पुग्यो सेमीफाईनल

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १३ । मैवाखोला गाउँपालिकाले ताप्लेजुङको फुङलिङमा शनिवार देखि जारी कञ्चनजङ्घा सेसेलुङ अन्तरपालिका स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुआत गरेको छ ।

मैवाखोलाले सिरिजङ्गालाई २–० ले पराजित गरेको छ । बिजयी टिमका लागि नानुमा लिम्बू र बिर्सना लिम्बूले १–१ गोल गर्नुभयो । मध्यान्तर अघि बराबरी खेलेका दुबै टिममध्ये बिजयी टिमका लागि नानुमाले पहिलो गर्नुभययो । पेनाल्टी एरियाबाट ड्रप आउट हुँदै गरेको गोललाई लङ ब्याक फर्काउँदै नानुमाले आफ्नो टिमलाई १–० को अग्रता दिलाउनुभयो् । इञ्जुरी समयको सुरुवातमा बिर्सना लिम्बूले उत्कृष्ट गोल गर्दै टिमलाई २–० को अग्रतामा पुर्‍याउनुभयो । बिपक्षी टिमतर्फ फर्कन लागेको बललाई नियन्त्रणमा लिएर पोष्टतर्फ प्रहार गर्नु भएकी बिर्सनाको गोलले सिधै जाली चुम्दा खेल मैवाखोलाले २–० ले जित्यो । बिर्सना पहिलो खेलको म्यान अफ द म्याच बन्नुभयो । ८ टिम सहभागी प्रतियोगिताको दोस्रो खेलमा आइतवार पाथीभरा याङवरक गाउँपालिका र आठराई त्रिबेणी गाउँपालिकाको टिम भिड्दैछन् ।

यसअघि भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाले महिला फुटबलको प्रवद्र्धन र संरक्षणका लागि पहलकदमी लिएकोमा आयोजक कञ्चनजंघा फुङलिङ क्लव र ङावरक सङ्जुम्बो फुङलेङप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम,फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)सहितले आफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सिरिजङ्गा गाउँपालिका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बू,बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु,जनप्रतिनिधिहरु र संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा प्रतियोगिता सुरु गरिएको हो । चासोक तङ्नाम सञ्चालन समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार प्रतियोगिता मंसिर २० गते सकिने छ । प्रतियोगिताको बिजेताले ट्रफीसहित २ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले १ लाख २ हजार ८२ रुपैयाँ नगद पुरस्कार पाउने समितिका कोषाध्यक्ष कुलदिप मादेनले जानकारी दिनुभयो ।

 

Similar Posts