ताप्लेजुङ ट्राफिक प्रहरीद्धारा चारवटा चार पाङ्ग्रे सवारी नियन्त्रणमा,थप अनुसन्धानका लागि ईटहरी पठाईदैं
उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले यातायात व्यवस्था कार्यालयको अभिलेख र सवारी दर्ता कितावको विवरणसंग मेल नखाएका ४ थान चार पाङ्ग्रे सवारी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका सवारीलाई प्रारम्भिक अनुसन्धान पछि आवश्यक थप अनुसन्धानका लागि तालुक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी पठाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)सुमन अधिकारीले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका सवारीहरुमा ना१ज १५८३,को१ज ११११,ना३च३९२८ र ना२च७२९५ रहेका छन् । नियन्त्रणमा लिएका मध्ये ना१ज १५८३ नम्बरको सवारी यातायात व्यवस्था कार्यालय विरगञ्जको अभिलेखमा नदेखिएको तथा को१ज ११११ नम्बरको सवारीको दर्ता कितावमा रहेको नम्बरसंग गाडीमा भएको ईञ्जिन नम्बर मेल नखाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ना३च३९२८ नम्बरको गाडी यातायात व्यवस्था कार्यालयको इजाजत तथा स्वीकृत नगरी पञ्च गरिएको अवस्था रहेको छ । ना२च७२९५ नम्बरको सवारी दर्ता कितावमा रहेको ईञ्जिन नम्बरमा गाडीमा भएको ईञ्जिन नम्बर मेल नखानुका साथै उक्त सवारीको दर्ता कितावमा उल्लेख भएको रंग रातो रहेको र फेला पारिएको सवारीको रंग सेतो रहेकोले शंकास्पद लागि नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान तथा कारवाही सुरु गरिएको समेत अधिकारीले जानकारी दिनुभयो ।