मतदान स्थल तथा केन्द्र पुनरावलोकनका लागि ताप्लेजुङमा ५ वटा वडाको सिफारिस,४ वडाको ८० प्रतिशत कार्यभार पूरा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक । मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनका लागि सिफारिस गरेका ताप्लेजुङका ५ वटा वडामध्ये ४ वटाले आफुले पूरा गर्नुपर्ने ८० प्रतिशत जिम्मेवारी पूरा गरी विवरण पठाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालका अनुसार एउटा वडाबाट भने मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन(थप)का लागि सिफारिस मात्र प्राप्त भएको छ । दुलालका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं २ र ६,मिक्वाखोला गाउँपालिका वडा नं ४ र मैवाखोला गाउँपालिका वडा नं ६ ले आफुले पूरा गर्नुपर्नेमध्ये ८० प्रतिशत काम पूरा गरी विवरण पठाएका छन् । आठराई त्रिबेणी गाउँपालिका वडा नं २ बाट भने पुनरावलोकनका लागि सिफारिस आएको तर सिफारिस समितिकातर्फबाट सम्पादन हुनुपर्ने कार्यमा खास प्रगति नभएको दुलालले बताउनुभयो । सिफारिस समितिकातर्फबाट ८० प्रतिशत कार्य पूरा गरेका वडाहरुलाई समेत सत प्रतिशत जिम्मेवारी पूरा गरी पूर्ण विवरण सहितको सिफारिसपत्र पठाउन आग्रह गरिएको दुलालले जानकारी दिनुभयो ।

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनका लागि कात्तिक मसान्तसम्ममा जिल्ला स्तरीय समितिले निर्वाचन आयोगमा आवश्यक प्रमाण सहितको विवरण पठाउनुपर्ने हुन्छ । दुलालले भन्नुभयो‘त्यही भएर निर्वाचन कार्यालयले सिफारिस पठाएका निकायलाई बिहीबारसम्ममा पूर्ण विवरण पठाउन आग्रह गरेको छ’। मतदानस्थल हटाउने,थप्ने,सार्ने वा गाभ्ने कार्यको सिफारिस वडा समितिबाट प्राप्त हुँदा सारिएको मतदानस्थलमा रहने मतदाता नामावली छुट्याई एकिन तथा अद्यावधिक सहितको सिफारिस गर्ने जिम्मेवारी समेत वडा समितिलाई रहने छ । समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको अध्ययन अवलोकन गर्ने,मतदान स्थल तथा मतदान केन्द्रमा मतदान गर्ने मतदाताहरूको पहिचान गर्ने,मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गर्ने सम्बन्धमा दल, स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गर्ने जिम्मेवारी पाएको छ ।

समितिले वडाभित्रका मतदान स्थल तथा मतदान केन्द्रको नाम र विवरणमा रहेको त्रुटी सच्याउनुपर्ने भएमा वा वडाभित्र नयाँ मतदान स्थल थप गर्नुपर्ने भएमा वा साविकमा रहेका मतदानस्थल हटाउनुपर्ने वा गाभ्नुपर्ने भएमा वा एक मतदान स्थलमा रहेका मतदातालाई अर्को मतदान स्थलमा सार्नुपर्ने भएमा कारण खुलाई प्रमाण संलग्न गरी जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति समक्ष सिफारिस गर्न पाउने जिम्मेवारी रहेको छ । यो कार्य सहितको विवरण प्राप्त हुन आएपछि जिल्ला स्तरीय समितिले मतदानस्थल र केन्द्र थप गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गर्न सक्ने छ ।

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले निर्वाचन आयोगद्वारा जारी मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ अनुसार पूर्ण विवरण समावेश गरी प्राप्त हुन आएका सिफारिसका आधारमा समितिले निर्वाचनन आयोगमा थप आवश्यक सिफारिस गर्ने बताउनुभयो । तर मतदान स्थल तथा केन्द्र थप सम्वन्धी निर्णय भने निर्वाचन आयोग आफैंले गर्ने उहाँले जानकारी दिनुभयो । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार अहिले ताप्लेजुङमा ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र कायम रहेका छन् ।

Similar Posts