सीमा क्षेत्रको अनुगमन संगै सीमा स्तम्भ मर्मत तथा दशजा क्षेत्रमा सफाई
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २४ । सशस्त्र प्रहरी वल नेपालले ताप्लेजुङको उत्तरपूर्वी नेपाल–भारत सीमा क्षेत्रको अनुगमन,सीमा स्तम्भ मर्मत तथा दशगजा क्षेत्रको सफाई गरेको छ ।
सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको सहकार्यमा ताप्लेजुङस्थित जिल्ला सुरक्षा निकायका पदाधिकारीको टोलीले अनुगमन तथा भारतीय समकक्षीसंग संयुक्त गस्ति समेत गरेको गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठकले जानकारी दिनुभयो ।
पाठकका अनुसार ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको नेतृत्वमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले सिदिङ्वा गाउँपालिका वडा नं १ तिम्बुङ पोखरी, सिरिजङ्गा गाउँपालिका वडा नं ८ र भारततर्फ सिक्कीमको ग्याल्सिङ जिल्ला लामपोखरी सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।
अनुगमनको क्रममा भारतीय सीमा सशस्त्र वल(एसएसबी)बिच सीमा सुरक्षाका लागि संयुक्त गस्ति समेत गरी जीर्ण अवस्थामा रहेको सीमा स्तम्भको मर्मत तथा रंगरोकन गरी दशगजा क्षेत्रमा सफाई समेत गरिएको सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति पाठकले जानकारी दिनुभयो ।