२०४४ को एसएलसी ब्याचका बिद्यार्थीले भानु माविमा स्थापना गरे साढे ५ लाख बढीको अक्षयकोष
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीहरुबाट ताप्लेजुङको फुङलिङस्थित भानुजन माध्यमिक बिद्यालयमा साढे ५ लाख बढीको अक्षयकोष रकम हस्तान्तरण भएको छ ।
बिद्यालयको समुन्नती र जेहेन्दार बिद्यार्थीहरुको प्रगतिका लागि स्थापित अक्षयकोषमा सोमवार ५ लाख ५२ हजार ६८१ रुपैयाँ हस्तान्तरण भएको भानुजन माध्यमिक बिद्यालयले जनाएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङ,बिद्यालयका प्रधानाध्यापक किशोरकुमार राई र बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष भक्तबहादुर येङदेनलाई भानुजन माविबाट २०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका बिद्यार्थीहरुको समूहबाट उक्त रकम प्रदान भएको छ ।
२०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीहरुसमूहकोतर्फबाट पाथीभरा आधारभूत बिद्यालयका प्रधानाध्यापक समेत रहनु भएका राजकुमार गुरुङ तथा स्थानीय सामाजिक कार्यकर्ता देवकुमार श्रेष्ठ समेतले अक्षयकोष रकम बिद्यालयलाई हस्तान्तरण गर्नु भएको हो । उक्त रकमबाट भानुजन मावि २०४४ नाम रहेको अक्षयकोष स्थापना गरिने छ । अक्षयकोष रकममा न्यूनतम् ५ लाख रुपैयाँ हुने र उक्त कोष बृद्धि गर्दै लग्न सकिने सहमति समेत गरिएको छ ।
अक्षयकोष रकमबाट भानु माविको कक्षा ९,१०,११ र १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्दार एक छात्र र एकछात्रा गरी जम्मा ४ जनालाई बार्षिक रुपमा बिद्यालयको बार्षिक उत्सव वा अभिभावक दिवसको अवसर पारी बिद्यालय र अक्षयकोष दाताको उपस्थितिमा छात्रबृत्ति प्रदान गरिने भएको छ । छात्रबृत्ति प्राप्त गर्ने बिद्यार्थीको नाम बिद्यालयले सिफारिस गर्नुपर्ने भएको छ भने बिद्यालयले छात्रबृत्ति प्रदान गर्ने दाताहरुको नाम शिलालेखमा अभिलेखीकृत गर्नुपर्ने भएको छ ।