पानी परेपनि झण्डै १५ सय दर्शनार्थी पुगे पाथीभरा मन्दिर
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १३। मौसममा आएको बद्लाव र निरन्तरको बर्षाकाबिच पनि बिहीबार ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ हजार ४२१ जनाले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीका अनुसार पछिल्लो बिहीबार सहित पछिल्लो ५ दिनमा ११ हजार २३२ जनाले मन्दिरको दर्शन गरेका छन् । बिहीबार बाहेक पछिल्लो चारदिनमा ९ हजार ८ सय ११ जना तीर्थालु पाथीभरा मन्दिर पुगेका थिए ।
कात्तिक महिना लागेयता पाथीभरा मन्दिरमा भक्तजनको संख्या बढ्दै गएको छ । गत शनिवार एकैदिन यो सिजनकै सबैभन्दा बढी ६ हजार ३९३ तीर्थालु मन्दिरको दर्शनका लागि पुगेको क्षेत्र विकास समितिले जनाएको छ ।