एक बिदेशी सहित ५ जना पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहणपछि पाथीभरा मन्दिरको दर्शनमा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ४ । एक बिदेशी सहित ५ जनाले कञ्चनजंघा रेञ्जमा पर्ने ताप्लेजुङमा अवस्थित ६ हजार ८६८ मिटर उचाईको पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण गरेका छन् ।
सन् २०२४–०२५ मा सरकारले ५७ वटा नयाँ हिमालको आरोहण खुल्ला गर्दा पाथीभरा साउथ इष्ट हिमाल समेत आरोहणका लागि खुल्ला भएको थियो । आरोहण दलमा चिलीका नागरिक हेर्नन र सोलुखुम्बुका कुङ्गाग्याजु शेर्पा सहित सहभागी रहनु भएको छ । हिमाल आरोहण गरेर फर्किएका ५ जनाले हिमालको सफल आरोहण पूरा भएपछि भगवानलाई धन्यवाद दिदैं ३ हजार ७९४ मिटर उचाईको ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन समेत गर्नु भएको छ् । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुुसार पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण दलमा रहेका ५ जनाले नै पाथीभरा मन्दिरको दर्शन गर्नु भएको हो । पाथीभराकै नाम जोडिएको हिमाल आरोहण सफलतापूर्वक पूरा गरेपछि उनीहरुले माता पाथीभराको दर्शन गरी आफ्नो यात्रामा थप सफलताको कामना गरेको आरोहण दललाई उधृत गर्दै महतले जानकारी दिनुभयो ।
६ हजार ५ सय देखि ६ हजार ९९९ मिटर उचाईको हिमालय रेञ्जमा पर्ने पाथीभरा साउथ इष्टको साधारण यात्रा दुरी ५० दिनको हुने उल्लेख ट्रेकिङ एण्ड एक्सपीडिसन प्रालि ‘स्नोपल’ले आफ्नो वेवसाईटमा उल्लेख गरेको छ । ‘स्नोपल’ले आफ्नो वेवसाइटमा लेखेअनुसार यो लोनाक भन्दा निकै माथि छ । यसको क्याराभान रुट लेन्थ घुन्साबाट ८१.८ किमी लामो रहेको समेत उसले लेखेको छ । यो सामुहिक एक्सपीडिसन हिमाल हो । यो हिमाल आरोहणका लागि बसन्त ऋतुमा बिदेशीका लागि ४ सय अमेरिकी डलर र नेपालीका लाछि ५ हजार रुपैयाँ कायम गरिएको छ । शरद ऋतु याममा भने बिदेशीका लागि २ सय अमेरिकी डलर र नेपालीका लागि २ हजार ५ सय रुपैयाँ रोयल्टी कायम गरिएको छ । यो हिमाल २७.८०८४ डिग्री अक्षाँस र ८८.१८८९ डिग्री देशान्तरमा रहेको छ ।