ताप्लेजुङको खाम्लुङमा कात्तिक ७ गतेबाट पाँचौं अन्तर जिल्ला स्तरीय मेरिङदेन कप फुटबल प्रतियोगिता
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा वडा नं ३ खाम्लुङमा हुने पाँचौं अन्तर जिल्ला स्तरीय मेरिङदेन कप फुटबल प्रतियोगिताको खेल तालिका शनिवार सार्वजनिक भएको छ ।
कात्तिक ७ गतेदेखि १३ गतेसम्म हुने फुटबल खेलमा १० टिमको सहभागिता रहने आयोजक पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लवका अध्यक्ष सुजन सामेखामले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा तेह्रथुम र पाँचथरका १–१ तथा ताप्लेजुङका ८ टिमको सहभागिता रहने छ । पहिलो खेलमा पृथ्वी लेस्नमाया स्मृति युवा क्लवले मेरिङदेन युवा क्लव थुकिमासंग सामना गर्ने छ । दोस्रो खेलमा नवज्योति युवा क्लव मेरिङदेनले सनराईज क्लव साँघु मैवाखोलासंग खेल खेल्दा तेल्लोक स्पोर्टिङ क्लव सिरीजङ्गाले मैवाखोला गाउँपालिका वडा नं १ स्थित जनसेवा आर्दश स्पोर्टिङ क्लवसंग भिडन्त गर्ने छ । साथीभाई युवा क्लव र मानाभरा स्पोर्टिङ क्लव मैदानमा उत्रदा तेह्रथुमको जिरीखिम्ति युवा क्लव र पाँचथरको गणेशचौकको टिम सिधै पहिलो चरणको खेल अगावै दोस्रो चरणको खेलमा जानेछन् ।
खेल संयोजक क्युमिन सामेखामका अनुसार प्रतियोगिताका बिजेताले नगद १ लाख ५१ हजार १८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र तथा द्धितीय हुनेलाई ८१ हजार १८२ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । खेलमा म्यान अफ द म्याच सहित बिधागत पुरस्कारको समेत व्यवस्था गरिएको क्लवले जनाएको छ । क्लवका अध्यक्ष सामेखामका अनुसार प्रतियोगिता सम्पन्न गर्न कुल १८ लाख ३२ हजार ३६४ रुपैयाँ बराबर खर्च हुने अनुमान गरिएको छ । यसमध्ये मेरिङदेन गाउँपालिका,वडा नं ३ सहित पालिकाका वडाहरु,सरकारी तथा गैर सरकारी संघसंस्थाहरु,गोर्खा ब्रुअरी प्रालि सहितका निकाय र व्यक्ति समेतका दाताहरु प्रमुख रुपमा रहने आयोजक संस्थाले जनाएको छ ।
२०७४ सालमा स्थापना भएको पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लव जिल्ला खेलकुद विकास समितिमा दर्ता नं १३१ मा दर्ता भएको छ । एक आपसमा भावनात्मक एकता कायम गर्न र दुर्गम क्षेत्रका खेलाडीहरुको नवसृजना तथा कायम रहेका खेलाडीहरुको थप व्यवसायिक कला विकासका लागि कार्यक्रम आयोजना गरिएको क्लवले जनाएको छ । प्रतियोगिताका सबै खेलहरु गोल नेपालबाट प्रत्यक्ष प्रसारण गर्ने तयारी गरिएको समेत क्लवले जानकारी दिएको छ ।