प्रहरी दिवसमा सामुहिक दौड तथा आँखा परीक्षण शिविर
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३० । दौड तथा आँखा परीक्षण शिविर गर्दै ताप्लेजुङमा ७० औं प्रहरी दिवस मनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार नेपाल नेत्रज्योति संघद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा बिहीबार करिव एकसय जना प्रहरी कर्मचारीको आँखाको परीक्षण तथा उपचार गरिएको छ । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबेको नेतृत्वमा रहेको टोलीले आँखाको परीक्षण तथा उपचार गरेको थियो ।
प्रहरी दिवसकै अवसरमा करिव डेढसय जनाको सहभागितामा सामुहिक दौड समेत सम्पन्न भएको छ । नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाको संयुक्त आयोजनामा भएको दौडमा करिव १ सय ५० जना सहभागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दौड फुङलिङस्थित नयाँ बसपार्कबाट नगर परिक्रमा सहित जिल्ला प्रहरी कार्यालयको हाताभित्र आएर सम्पन्न भएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिएसपी गौतम,बरिष्ठ प्रहरी अधिकृत,सकल दर्जाका प्रहरी कर्मचारी समेतको सहभागिता रहेको थियो । प्रहरी संगठनको स्थापना विसं २०१२ साल असोज ३१ गते भएको हो । प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई प्रहरीले आफ्नो संस्थाको जन्मदिन मानेको छ । प्रहरीले आफ्नो स्थापना दिवस मनाउने प्रचलन भने तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको पालामा २०५२ सालदेखि सुरु भएको मानिन्छ ।