ताप्लेजुङमा मतदाता नामावली दर्ता गर्नेको चहलपहल बढ्दो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २० । सरकारले आगामी फागुन २१ गते गर्ने घोषणा गरको प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर ताप्लेजुङमा फोटो सहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागिता जनाउनेको संख्या बढ्दै गएको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी खुल्ला भएको नामावली दर्ताका क्रममा अहिलेसम्म ३४ जनाले नाम दर्ता गराईसकेका छन् । निमित्त जिल्ला निर्वाचन अधिकारी वान्दवराज दुलाल(विपिन)का अनुसार अहिले मतदाता नामावदी दर्ता तथा अद्यावधिक कार्यका लागि सम्पर्क राख्नेहरुको संख्या समेत बढ्दै गएको छ ।‘कोही नाम दर्ताका लागि सरासर आउनु हुन्छ,कोहि नाम दर्ता तथा अद्यावधिक कार्यको प्रकृया बुझेर जानुहुन्छ’दुलालले भन्नुभयो । उहाँका अनुसार २०८१ चैतसम्ममा ताप्लेजुङमा ४६ हजार ८७९ पुरुष र ४० हजार ९८४ महिला गरी कुल ८७ हजार ८६३ मतदाता रहेका थिए । निमित्त जिल्ला निर्वाचन अधिकारी दुलालका अनुसार सार्वजनिक बिदाका दिन बाहेक मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य आउँदो कात्तिक ३० गतेसम्म सञ्चालन हुनेगरी निर्वाचन आयोगको कार्यतालिका रहेको छ । मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सार्वजनिक बिदाका दिन बाहेक बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म हुँदै आएको समेत दुलालले जानकारी दिनुभयो ।
दुलालका अनुसार अहिले नेपाली नागरिकता प्राप्त गरेका तर मतदाता नामावलीमा नाम दर्ता नभएका व्यक्तिहरुको मतदाता नामावलीमा नाम दर्ता गरिने,मतदाता नामावलीमा भएका त्रुटीहरु सच्याउने,बिबाह भई आएका÷गएका,बसाँई सरी आएका÷गएका व्यक्तिहरुको मतदाता नामावली सार्ने र मृत्यु भएका,नागरिकता त्याग गरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाउने कार्य हुनेछन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङमा कुल ८८ हजार २८५ मतदाता रहेका थिए । मतदाता नामावली अद्यावधिक,मतदाता नामावली सार्ने सहितका कार्यपछि २०८१ साल चैत मसान्तसम्मका कुल मतदाता संख्या ८७ हजार ८६३ कायम भएको हो । २०७९ सालको निर्वाचनमा नेकपा एमालेका योगेशकुमार भट्टराई काँग्रेस,माओवादी केन्द्र र नेकपा एसको गठबन्धनका संयुक्त उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री(पराग)लाई २०८ मतको झिनो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचित हुनु भएको थियो । उतिबेला भट्टराईले २१ हजार ९४३ र उहाँका निकटतम् प्रतिश्पर्धी बुढाक्षेत्रीले २१ हजार ७३५ मत ल्याउनु भएको थियो ।