ताप्लेजुङमा सापुको समस्या बढ्दो,सेतो पुतलीको संसर्गबाट टाढै रहन विज्ञको सल्लाह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १६ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका बसन्त लिम्बूको आँखा अचानक रातो हुने र चिप्रा लाग्ने हुन थाल्यो । आँखामा सामान्य दुखाई सुरु हुने तथा क्रमशःआँखा हेर्न समस्या हुन थालेपछि उहाँले लागो लगानको विश्वासमा धामी झाँक्री समेत लगाउनुभयो । तरपनि आँखा ठीक भएन । धामी झाँक्रीको बलमा समेत उहाँको आँखाको समस्या निदान नभएपछि उहाँ आँखा देखाउन नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्र आउनुभयो ।
दशैं बिदा सुरुभएपनि आँखाको अवस्था नियाल्दा परीक्षण अनिवार्य रहेको जस्तो देखेपछि डिचेन डोङ्गलाका बरिष्ठ नेत्र अधिकृत काजीमान गुरुङले लिम्बूलाई आकस्मिक सेवा दिँदै आँखाको परीक्षण गर्नुभयो । परीक्षणका क्रममा सेतो पुतलीको झुसबाट लाग्ने सापु रोगको संक्रमण पुष्टी भयो । आँखामा देखिएको उक्त समस्या समाधानका लागि आँखाको थप उपचार आवश्यक रहेको देखेपछि बरिष्ठ नेत्र अधिकृत गुरुङले लिम्बूलाई मेची आँखा अस्पताल रेफर गर्नुभयो । ‘उपचारमा ढिलो गरी आउँदा यसले ठूलो समस्या निम्त्याउँछ’लिम्बूको आँखामा आफुले अझै जोखिम देखेको बताउँदै गुरुङ भन्नुहुन्छ । गुरुङका अनुसार सेतो पुतलीको झुसका कारण आँखाको समस्या लिएर उपचारमा आउने लिम्बू एक्लो हुनुहुन्न । औसतमा दैनिक ६०–७० जनासम्म आँखाको परीक्षणका लागि आउने डिचेन डोङ्गलामा अहिले औसतमा ४ देखि ५ जना सेतो पुतलीको संक्रमणबाट समस्या भएको लिएर आउने सेवाग्राही रहने गरेको गुरुङले जानकारी दिनुभयो ।
सेतो पुतलीको सङ्क्रमणबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । सापुको पूरा रुप सिजनल हाइपरएक्युट प्यानुभाइटिस हो । यो आँखामा हुने एक प्रकारको संक्रमण हो,जसले दृष्टी गुम्ने जोखिम निम्याउन सक्छ । सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आईवर्कर काजीमान थेबे बताउँनुहुन्छ । उहाँका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र द्रुतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ । सापुको लक्षण देखिएको ४८ देखि ७२ घण्टा भित्रमा आँखाको उपचार नभए रोगीको आँखाको दृष्टी गुम्ने सम्भावना अधिक रहने बरिष्ठ नेत्र अधिकृतले जानकारी दिनुभयो । धेरै उज्यालो सेतो बत्ति सेतो पुतलीले मन पराउने भएकोले यस्तो ठाउँमा जोखिम बढी हुने गुरुङले बताउनुभयो ।
नेपालका मध्य पहाडी तथा हिमाली जिल्लाका अलवा तराईका केहि जिल्लाहरुमा समेत सेतो पुतलीको संक्रमणबाट देखिने सापु रोग देखिने गरेको उहाँको भनाई रहेको छ । उहाँले सेतो पुतलीको ससंर्गबाट टाढै रहन,धेरै उज्लालो सेतो बत्ति नबाल्न,साँझ र राति झ्याल ढोका बन्द गर्न,सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्न,सुत्ने कोठामा बत्ति निभाएर वा मधुरो बत्ति बालेर वा सुतेको ठाउँमा सेतो पुतली नछिर्ने झुलको प्रयोग गर्न र उसित्तका झाडीहरुको संसर्गबाट टाढै रहन समेत सल्लाह दिनु भएको छ । पुतली समात्ने र आँखा तथा निधारमा दल्ने कामले सापुको संक्रमण जोखिमपूर्ण बनाउने भएकोले गुरुङले यो काम गर्न नहुने बताउनुभयो ।
केहिबर्ष अघि ताप्लेजुङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सापुको समस्या लिएर एक बिरामी ।