यसबर्ष १२ जनाले पाए रिड नेपालले प्रदान गर्ने उच्च शिक्षा छात्रबृत्ति,८८ लाख बढी रकम छात्रबृत्तिमै बितरण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । कार्यक्षेत्र बिस्तार संगै छात्रबृत्ति कोटालाई ७ बाट बढाएर १२ जना पुर्याएको रिड नेपालले यसबर्ष झण्डै ६ लाख रुपैयाँ छात्रबृत्ति प्रदान गरेको छ ।
कार्यक्षेत्र भित्रका फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाका १० वटा वडाका १२ माध्यमिक बिद्यालयका प्रत्येक एक बिद्यार्थीले रिड नेपालको उच्च शिक्षा छात्रबृत्ति पाएका छन् । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार यसबर्ष रिड नेपालले उच्च शिक्षा छात्रबृत्ति वापत ५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ । विद्यार्थीहरुलाई जर्ज बैण्ड मेमोरियल उच्च शिक्षा छात्रवृत्ति प्रदान गरिएको पन्तले जानकारी दिनुभयो ।
यसबर्ष रिड नेपालको कार्यक्षेत्रमा फक्ताङलुङ गाउँपालिकाको वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिम थप भएका छन् । यसअघि फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ ईखाबु,५ तापेथोक,६ लेलेप र ७ ओलाङगोला गरी ४ वटा वडा तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन,७ खेवाङ र ६ मामाङ्खे गरी ३ वटा गरी कुल ७ वटा वडा रहेका थिए । फक्ताङलुङ गाउँपालिकाका सबै वडालाई कार्यक्षेत्रमा समेट्ने क्रममा यसबर्ष रिडको कार्यक्षेत्र बिस्तार हुँदा ३ वटा वडा भित्र ५ वटा माध्यमिक बिद्यालय थप भएका छन् । रिडको कार्यक्षेत्रमा रहेका ५४ वटा बिद्यालयमध्ये १२ वटा माध्यमिक बिद्यालय समेटिँदा प्रत्येक माविबाट कम्तिमा एकजनाले रिड नेपालको उच्च शिक्षा छात्रबृत्ति पाएका छन् । रिडका जिल्ला कार्यक्रम प्रवन्धक पन्तका अनुसार यसबर्ष तीनवर्षे प्राविधिकधारतर्फ फक्ताङलुङ गाउँपालिकाका वडा नं ५ तापेथोक स्थित पार्वती माविकी सरला लिम्बूले छात्रबृत्ति पाउनु भएको छ ।
सरलासंगै तीनवर्षे प्राविधिकधारतर्फ सिरिजङ्गा गाउँपालिका वडा नं ६ स्थित लक्ष्मी मावि मामाङ्खेका ऐश्वर्या लिम्बू,सोहि गाउँपालिका वडा नं ८ याम्फुदिनस्थित कञ्चनजंघा माविकी लक्की भोटे र वडा नं ७ खेवाङस्थित गणेश माविका लक्ष्मीप्रसाद सेञ्चुरीले छात्रबृत्ति पाउनु भएको रिड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत संगिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दुईवर्षे विज्ञान संकायतर्फ फक्ताङलुङ गाउँपालिका वडा नं लेलेपस्थित सरस्वती च्यारीबुक माविका आङछुडोल्मा शेर्पा र फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माविका विक्रम लिम्बूले छात्रबृत्ति पाउनु भएको ।
दुईवर्षे शिक्षा–मानविकी तथा व्यवस्थापन संकायतर्फ फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित सेवालुङ माविका टेकहाङ लिम्बू र सुनदेवी माविका रिजन लिम्बूले छात्रबृत्ति पाउनु भएको छ । फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमका सोनिया लिम्बू र आर्दश माविका शान्ति लिम्बू,सोहि गाउँपालिका वडा नं १ सावादिनस्थित रविकला माविका नूमा लिम्बू तथा वडा नं ५ तापेथोकस्थित सरस्वती माविका प्रकृति लिम्बूले समेतले दुईवर्षे शिक्षा–मानविकी तथा व्यवस्थापन संकायतर्फ छात्रबृत्ति पाएको रिड नेपालले जनाएको छ । रिड नेपालले विगत १३ वर्ष देखि निरन्तर रुपमा यस्तो किसिमको छात्रबृत्ति वितरण गरिरहेको छ ।
रिड नेपाल ताप्लेजुङका वित्त तथा प्रशासन प्रमुख तेजप्रकाश उपाध्यायका अनुसार रिड नेपालले हालसम्म १ सय ६ जना विद्यार्थीहरु यस्तो छात्रबृत्ति प्रदान गरिसकेको छ । छात्रबृत्ति वापतमात्र रिड नेपालले हालसम्म ८८ लाख १२ हजार ५६ रुपैयाँ खर्च गरिसकेको उपाध्यायले जानकारी दिनुभयो । रिड नेपाल विगत १७ बर्षदेखि ताप्लेजुङमा गुणस्तरीय शिक्षाका लागि कार्यरत रहेको संस्था हो । नेपालको दोस्रो तथा विश्वको तेस्रो ठूलो कञ्चनजंघा (८,५८६ मिटर) हिमालको पहिलो आरोही जर्ज बैण्डको सम्झनामा यो छात्रबृत्ति स्थापना गरिएको रिड नेपालले जनाएको छ ।