ताप्लेजुङमा देउसी भैलो ९ बजेसम्म मात्र,रमाइलोका कार्यक्रम गर्दा अनावश्यक होहल्ला र भिडभाड गर्न नपाइने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ६ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक स्थलमा भीडभाड,होहल्ला नथा हुलदंगा नगरी चाडपर्व मनाउन सर्वसाधारणलाई अपिल गरेको छ ।
सोमवार प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँद्धारा जारी सूचनामा देउसी भैलोका कार्यक्रम मर्यादित,अनुशासित एवम् व्यवस्थित ढंगले राति ९ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ । प्रशासन कार्यालयले चाडपर्वको बहानामा धार्मिक,जातिय वा सामाजिक सद्भावमा खलल् पुग्ने कुनैपनि गतिविधि नगर्न तथा नगराउन,गैर कानुनी रुपमा चिठ्ठा,जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट समेत ठगी नगर्ने र गर्न नहुनेतर्फ समेत सचेत गराएको छ । प्रशासन कार्यालयले सवारी क्षमता भन्दा बढी यात्रु नबोक्न,मादक पदार्थको सेवन गरी सवारी नचलाउन,तोकिएको भन्दा बढी भाडादर नलिन र ट्राफिक नियमको पूर्ण पालना गर्न यातायात व्यवसायी,यात्रु तथा यातायात धनीलाई ध्यानाकर्षण गरेको छ ।
प्रशासन कार्यालयले अत्यावश्यक बस्तुमा कृत्तिम अभाव सृजना गर्ने,कालोबजारी गर्ने,प्रचलित दर भन्दा बढी मूल्यमा मालसामन बिक्री बितरण गर्ने,अखाद्य तथा म्याद नाघेका बस्तुहरुको बिक्री बितरण गर्ने कार्य बिरुद्ध सुक्ष्म निगारानी बढाउने भएको छ । उसले यस्ता गलत कार्य नगर्न तथा नगराउन सर्वसाधारण सबैलाई आग्रह समेत गरेको छ । प्रशासन कार्यालयले मनसुनका कारण बिग्रे भत्किएका सडक मर्मतका लागि सम्वन्धित पक्षको ध्यानाकृष्ट समेत गरेको छ भने यात्रा गर्दा सुरक्षा सर्तकर्ता अपनाउन यात्रु र सवारी चालकलाई आग्रह समेत गरेको छ । चाडपर्वको समयमा आपूर्ति,अन्य आपतकालिन तथा स्वास्थ्य सेवालाई नियमित र व्यवस्थित गर्नेतर्फ सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको छ । एम्बुलेन्स,स्वास्थ्यकर्मी,स्काभेटर,सवारी साधन,क्रेन,चालक,ईन्धन आदिलाई तयारी हालतमा राख्न समेत प्रशासन कार्यालयले सम्वन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।