फक्ताङलुङमा एक बिद्यालय एक करेसाबारी,एक शिक्षक,एक बिरुवा’कार्यक्रम कार्यान्वयनमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले‘एक बिद्यालय एक करेसाबारी,एक शिक्षक,एक बिरुवा’कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले चालु आर्थिक बर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिकाभरीका प्रत्येक बिद्यालयमा‘बिद्यालय बगैंचा’ निर्माण गर्ने घोषणा गरेका थिए । पालिकाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार एक बिद्यालय एक करेसाबारी,एक शिक्षक,एक बिरुवा’कार्यक्रम कार्यान्वयनमा आएको पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालका अनुसार प्रत्येक बिद्यालयमा रोपण गरिएको बिरुवाको संरक्षण गर्ने दायित्व सम्वन्धित शिक्षकको हुने छ । आफुले रोपेको बिरुवालाई आफ्नै नाम दिएर हुर्काउने,संरक्षण गर्ने,पानी र मलजल गर्ने र बढाउने सबै दायित्व शिक्षकको हुने छ । कतिपय बिरुवाहरु पालिका आफैंले उपलब्ध गराउँदै आएको र कतिपय बिरुवाहरु शिक्षक आफैंले समेत खोजी गरी रोपण गर्न सक्ने प्रवन्ध गरिएको पालिकाले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिका भरीमा ४० वटा बिद्यालय रहेका छन् । पालिकाले प्रत्येक बिद्यालयमा एक करेसाबारी अनिवार्य गरिएको छ । करेसाबारीमा आवश्यक पर्ने तरकारी तथा फलफूलजन्य बिरुवा पालिकाले छिरुवामा रहेको एकीकृत कृषि तथा पशुपंक्षि अनुसन्धान केन्द्रमार्फत समेत उपलब्ध गराउने भएको छ । यो केन्द्रमार्फत पालिकाका माध्यमिक बिद्यालयका बिद्यार्थीलाई समयमा कृषि तथा पशु सम्वन्धी ज्ञान दिने योजना समेत बनाईएको छ । बिद्यालयमा निर्माण हुने करेसाबारीमा भूगोल र माटो सुहाउँदो बालीका बिरुवा शिक्षक,बिद्यार्थी तथा अभिभावकले आफैंले समेत संकलन गर्न सक्नेछन् । उत्पादन भएको फलफूल तथा तरकारीबाली बिद्यालयकै सम्पत्तिको रुपमा रहने र बिद्यालय आफैंले प्रयोग गर्न सक्ने प्रवन्ध गरिएको पालिकाले जनाएको छ । पालिकाले बिद्यालयमा करेसाबारी निर्माण गर्दा बिद्यार्थीलाई व्यवहारिक ज्ञान समेत प्रदान हुने अपेक्षा राखेको छ ।