मन्त्र ब्याण्डको उपस्थितिमा लाइभ कन्सर्ट मंसिर २ गते

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३ । मन्त्र ब्याण्डको उपस्थितिमा ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुन लागेको लाइभ कन्सर्ट आउँदो मंसिर २ गतेका लागि सरेको छ ।
आयोजक ङावोरक सङ्जुम्बो फुङ्लेङले शुक्रवार पत्रकार सम्मेलनमार्फत यसअघि निर्धारित कार्यक्रम मंसिर २ गतेका लागि सारिएको जानकारी दिएको छ । कन्सर्ट यसअघि असोज २१ गते हुने गरी तय भएको थियो । देशको पछिल्लो बिद्यमान अवस्था,परिवर्तित सन्दर्भ र त्यसपछि उत्पन्न परिस्थतिलाई मध्यनजर गर्दै यसअघि असोज २१ गतेका लागि निर्धारित लाइभ कन्सर्ट मंसिर २ गते हुनेगरी तय भएको साझेदार संस्था मातृभूमि ब्याण्डका ब्याण्ड व्यवस्थापक किरण मादेनले जानकारी दिनुभयो । फुङलिङ नगरपालिका–४ भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने छ । मातृभूमि भारत दार्जिलिङको ब्याण्ड हो ।
कार्यक्रम संयोजक तारानाथ बरालका अनुसार मिति परिवर्तन बाहेक कन्सर्टका लागि यसअघि तय भएका अन्य सबै कार्यक्रम र प्रकृयाले निरन्तरता पाउनेछन् । ङावोरक सङ्जुम्बो फुङ्लेङले सामुदायिक भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिदका लागि सहयोग जुटाउन कन्सर्ट गर्न लागेको जनाएको छ । फुङलिङ नगरपालिका–४ माछापोखरी टोलमा भवन निर्माणको कार्य सुरु गरिएपनि सामुदायिक भवनका लागि आवश्यक पर्ने थप जग्गा खरिदका लागि कन्सर्टमार्फत केहि रकम सहयोग जुटाउने आयोजकको अपेक्षा छ ।
करिब १ करोड ५० लाख रुपैयाँमा सामुदायिक भवन निर्माण पूरा गर्नेगरी लागत इष्टिमेट तयार भएको छ । उक्त भवनको जग्गा खरिदका लागि १२ लाख रुपैयाँ आवश्यक परेको कोषाध्यक्ष राजदीप मादेनले बताउनुभयो । अहिले जग्गा धनीलाई करिब १ लाख रुपैयाँ प्रदान गरी भवनको निर्माण कार्य अघि बढाईएपनि आवश्यकपर्ने जग्गा खरिदका लागि रकम नहुँदा जग्गाधनीलाई सम्पूर्ण रकम दिन सकिएको छैन । कन्सर्टमार्फत रकम संकलन गरी जग्गा खरिद प्रकृयालाई पूर्णता दिने तयारी गरिएको छ ।