स्थापना दिवसमा रक्तदातालाई सम्मान

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १ । रक्तदाताहरुलाई सम्मान गर्दै नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले आफ्नो ५० औं स्थापना दिवस मनाएको छ ।

रक्त सञ्चार केन्द्र नभएको ताप्लेजुङमा रगतको आवश्यकता परेको बेला रक्त समूह अनुसारका व्यक्तिलाई रक्तदानका लागि आमन्त्रण गरेर रगतको अभाव टाँरिदैं आएको छ । त्यसका लागि नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ सहितका निकायले रक्त समूह अनुसार व्यक्तिको सूची तयार गरेका छन् । अहिले रक्तदानको समस्या टार्नका लागि फुङलिङ नगरपालिका वडा नं ५ का दिनेश खवास सहितका युवाहरुको अगुवाईमा समूह बनेको छ । रगत आवश्यक भएका व्यक्तिका सदस्यले माग गरेअनुसार उक्त समूहले अहिले रक्तदाताको खोजी गरी रगतको समस्या टार्ने गरिएको छ । रक्तदानका लागि ताप्लेजुङका नागरिक,बिभिन्न कार्य र जिम्मेवारीमा ताप्लेजुङ आइपुगेका कर्मचारी,नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र बैंक तथा वित्तीय संस्थामा आवद्ध भई कार्यरत कर्मचारी र सरोकारवालालाई आग्रह गर्ने गरिएको छ । रक्तदान गरेका व्यक्तिहरुको रक्त समूहसहितको सूची समेत तयार भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रनाम जयरुले रगतको आवश्यकता र त्यसको परिपूर्ति जीवनका लागि महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले रक्तदान गर्ने व्यक्तिले जीवनदान नै गरे सरहको पुण्य प्राप्त गर्ने समेत दावी गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी तथा रक्तदान कार्यमा सहयोग गर्ने व्यत्तित्व खवासले रक्तदानको महत्व र अहिले ताप्लेजुङमा टारिँदै आएको रगतको अभाव बारे बोल्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतम,फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज),नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ,मन्त्री विकास गौतम सहित पदाधिकारी तथा सदस्य,रक्तदाताहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । स्थापना दिवसको अवसरमा २०७९ साल देखि प्रमाणपत्र पाउन बाँकी रहेका रक्तदाता र सो भन्दा पछिका रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका उपमन्त्री कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Similar Posts