पहिरोको बितण्डा,मैवाखोलामा ११ घर परिवार बिस्थापित,१२ घर उच्च जोखिममा,ठाउँठाउँमा ग्रामीण सडक अबरुद्ध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १ । दुईजनाको ज्यान समेत गईसकेको पहिरोले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४ वटामा वडामा गरी ११ घर परिवार बिस्थापित भएका छन् । १२ घर परिवार उच्च जोखिममा रहेका छन् ।
स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट समितिका अध्यक्ष एवम् पालिका अध्यक्ष विजयप्रकाश वनेमको नेतृत्वमा पहिरो प्रभावित क्षेत्र पालिकाको वडा नं २,४,५ र ६ को स्थलगत अनुगमन गरिएको छ । अनुगमनका क्रममा वडा नं २ मा २ घर,वडा नं ५ मा १ घर र वडा नं ६ मा ८ घर परिवार बिस्थापित भएको पाईएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो । वनेमका अनुसार वडा नं ४ मा ५ घर र वडा नं ५ मा ७ घरपरिवार उच्च जोखिममा रहेका छन् । पहिरोले वडा नं ६ मा एकघर पुर्दा २ जनाको मृत्यु भएको थियो भने ३ जना घाइते भएका थिए । घाइतेहरु सामान्य अवस्थामा फर्कन थालेको स्थानीयले बताएका छन् ।
गत बुधबार मैवाखोला गाउँपालिका–६ फाकुम्बाको भित्तेमा गएको पहिरोमा परी अन्दाजी ६० वर्षीय लाक्पाखाङ्डु शेर्पा र ५५ वर्षीया मिङ्मालाकी शेर्पाको मृत्यु भएको थियो । फाकुम्बाको भित्ते बस्तीमाथि मुढेडाँडाबाट झरेको पहिरोमा पुरिएर लाक्पाखाङ्डु शेर्पाको घर बगाएको थियो । घर नै बगाउने गरी गएको पहिरोमा परी शेर्पा र छिमेकी मिङ्मालाकीको मृत्यु भएको थियो । पहिरोले बगाएका उहाँहरुको खोजी गर्ने क्रममा दिउँसो शव भेटिएको थियो ।
पालिका अध्यक्ष वनेमका अनुसार पहिरोले वडा नं ४ को एकबासे सडक पूर्ण रुपमा बगाएको छ । वडा नं ४ र वडा नं ५ जोड्ने टिमुरे झोलुङ्गे पुलतर्फ जाने बाटोको भागमा जग बाहेक सबै बगाएको देखिएको पालिका अध्यक्ष वनेमले बताउनुभयो । पहिरोले वडा नं ५ को महादेवथान र कामसाङ क्षेत्रको सडक अवरुद्ध भएको छ । वडा नं ५ र ६ जोड्ने चिम्फाक रानीवन सडकको मुढे–च्यानडाडा सडक बगाएको समेत वनेमले जानकारी दिनुभयो । यस्तै रानीवन साङलुप्पा सडकखण्ड ठाउँ–ठाउँमा बगाएको छ । रानीवन–साम्तोङ सडक पनि अबरुद्ध भएको पालिका अध्यक्ष वनेमले जानकारी दिनुभयो ।
पहिरोले ओर्खुम–जैवा सडक बगाएको छ भने फाकुम्बा क्षेत्रमा सडक बगाएर यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ । तिर्तिरे–खार्ते सडकको अयाक्मा जङ्गल क्षेत्रमा हालेको ग्याबिन र सोलिङ समेत बगाएको अध्यक्ष वनेमले बताउनुभयो । अबरुद्ध भएका सडकहरु तत्काल खुल्ने सम्भावना नरहेको र विकल्प बारे पालिकाले सक्दो योजना बनाईरहेको समेत पालिका अध्यक्ष वनेमले जानकारी दिनु भएको छ ।