ताप्लेजुङमा चारपार्टीले बुझाए तोडफोडको क्षति विवरण

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३१ । जेन जी आन्दोलनको समयमा ताप्लेजुङका पार्टी कार्यालय तोडफोड भएको भन्दै यहाँका ४ पार्टीले क्षति विवरण बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले क्षति विवरण बुझाएका छन् । पार्टीतर्फ सबैभन्दा बढी क्षति एमालेको भएको विवरण पेश भएको छ । एमालेले ५९ लाख ६० हजार ४० रुपैयाँ बराबरको क्षति विवरण पेश गरेको छ । एमालेको आफ्नै भवन तथा मदन भण्डारी स्मृति प्रतिष्ठान रहेको छ । नेपाली काँग्रेसले ११ लाख ४० हजार २ सय ४० रुपैयाँको क्षति विवरण पेश गरेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख १८ हजार ७ सय ५० रुपैयाँ तथा माओवादी केन्द्रले ५ लाख ७० हजार ५ सय रुपैयाँको क्षति विवरण बुझाएको छ । जेन जी आन्दोलनकै समयमा पहिचानवादी मोर्चाको कार्यालयमा समेत क्षति पुगेको उक्त पार्टी सम्वद्ध नेताहरुले सामाजिक सञ्जालमा लेखेका थिए ।
प्रहरीले भने अहिलेसम्म अन्यबाट क्षति विवरण प्राप्त भइनसकेको बताएको छ । उक्त अवधिमा फुङलिङ नगरपालिका,पाथीभरा मन्दिरमा रहेको स्वास्थ्य सहयाता केन्द्र र माथिल्लो तमोर जलविद्युत आयोजनाको एउटा भवनमा आगजनी भएको थियो । यस्तै नगरप्रमुख अमिर मादेनको घरमा समेत आक्रमण भएको प्रहरीको अभिलेखबाट देखिन्छ । यस्तै सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड तथा कागजात लगिएको पालिका अध्यक्ष मानबहादुर राईले बताउनु भएको छ । यसमा को संलग्न छन् भन्ने बारे खोजी भइरहेको पालिकाले जनाएको छ । नगरपालिकाले करिव साढे ५ करोड हाराहारी क्षति भएको अनौपचारिक रुपमा बताउँदै आएको छ ।
सार्वजनिक प्रर्दशन,हड्ताल तथा बिरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कन सम्वन्धी कार्यविधि २०८१ अनुसार जिल्ला तहमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा क्षति मूल्याङ्कन समिति रहेको हुन्छ । कार्यविधिको परिच्छेद ४(७) अनुसार सहायक प्रजिअको संयोजकत्वमा प्रहरी निरीक्षक,सरकारी वकिल कार्यालयको अधिकृत स्तरको प्रतिनिधि,कोष नियन्त्रक,प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृत स्तरको दुईजना प्राविधिक कर्मचारी र सम्वन्धित स्थानीय तहको अधिकृत स्तरको कर्मचारी सदस्य रहेको क्षति मूल्याङ्कन समिति रहेको हुन्छ ।
कार्यविधि अनुसार गठित समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले समितिले धमाधम काम अघि बढाईरहेको जानकारी दिनुभयो । समितिले क्षति भएको स्थलको अवलोकन तथा निरीक्षण गर्ने,हानी नोक्सानी भएको सम्पत्ति विवरण तथा सोसंग सम्वन्धित तथ्य प्रमाणको संकलन गर्ने तथा गराउने,क्षतिको विवरण एकिन गर्न सम्पत्तिको स्वामित्व भएको व्यत्ति,संघसंस्था,निकाय,पदाधिकारी वा आवश्यक व्यक्तिसंग सोधपुछ छलफल तथा लिखित प्रतिबेदन समेत माग गर्ने काम गर्न सक्छ ।