|

फक्ताङ्लुङका विद्यालयलाई महावीरको पुस्तक उपलब्ध

-प्रयास लिम्बू
ताप्लेजुङ, भदौ ३० । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका विद्यालयलाई डा. महावीर पुनको पुस्तक उपलब्ध गराइएको छ । पालिकाभरिका विद्यालयका पुस्तकालयमा राख्नेगरी डा. पुनले लेख्नुभएको ‘सम्झाना, सपना र अविरल यात्रा’ नामक आत्मकथा पुस्तक उपलब्ध गराइएको हो ।
हाल हङकङ बस्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–६ मादिबुङकी सविता फेम्बु लिम्बूले डा. पुनले लेख्नुभएको पुस्तक खरिद गरी विद्यालयलाई उपलब्ध गराउनुभएको हो । फेम्बुले ५० हजार रुपियाँ बराबरको ५५ वटा पुस्तक खरिद गरेर फक्ताङ्लुङका सबै विद्यालयलाई उपलब्ध हुने गरी सोमबार गाउँपालिकालाई बुझाइएको छ ।
उक्त पुस्तक गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) लाई हस्तान्तरण गरिएको सविता फेम्बुका प्रतिनिधि दिलकुमार फेम्बुले जानकारी दिनुभयो । महावीर पुनको जीवन गाथा समेटिएको उक्त पुस्तक बुझ्नुहुँदै गाउँपालिका अध्यक्ष लिम्बूले पालिकाका सबै विद्यालयलाई उपलब्ध गराउने बताउनुभयो ।
माध्यमिक विद्यालयलाई दुईवटा र आधारभूत विद्यालयलाई एउटाका दरले पुस्तक उपलब्ध गराउने पनि अध्यक्ष लिम्बूले बताउनुभयो । सात वटा वडा रहेको फक्ताङ्लुङ गाउँपालिकामा नौ वटा माध्यमिक विद्यालय र ३१ आधाभूत गरी ४० वटा विद्यालय रहेका छन् ।
यता वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालन गर्ने योजना बनाएर पुस्तक बिक्री गर्ने देशव्यापी अभियान सुरु गर्नुभएका डा. महावीर पुन ताप्लेजुङ पनि आइपुग्नुभएको छ । आफूले लेखेको पुस्तक बिक्री गरेर कारखाना सञ्चालन गर्ने योजना बनाएर अभियान चलाउनुभएका पुन पुस्तक बिक्री गर्दै यहाँ आइपुग्नुभएको हो ।
डा. पुनले शनिबार र आइतबार दुई दिन ताप्लेजुङमा बसेर पुस्तक बिक्री गर्नुभएको छ । सदरमुकाम फुङ्लिङ बजारका प्रत्येक पसलमा पुगेर उहाँले पुस्तक बिक्री गर्नुभयो । फुङ्लिङ नगरपालिकासहित केही कार्यालयमा समेत पुगेर डा. पुनले पुस्तक बिक्री गर्नुभएको फुङ्लिङ बजारका व्यवसायी कैलास बानियाँले बताउनुभयो । स्थानीय व्यवसायी बानियाँले पुस्तक बिक्रीका लागि डा. पुनलाई सहजीकरणका साथै सहयोग गर्नुभएको थियो ।

Similar Posts