ताप्लेजुङमा साँझ ५ बजेसम्म निशेधाज्ञा जारी,५ जना भन्दा बढी भेला जम्मा हुन प्रतिवन्ध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २७ । पूर्व स्वीकृति नलिई बढीमा ५ जना भन्दा बढी व्यक्ति आवत जावत वा भेला जम्मा हुन प्रतिवन्ध गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शुक्रवार बिहान १० बजे देखि साँझ ५ बजेसम्म निशेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँद्धारा केहिबेर अघि जारी निशेधाज्ञा सूचना प्रतिकुल हुने कार्य गरेमा कानुन अनुसार कारवाही हुने चेतावनी दिईएको छ । नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्काले निशेधाज्ञाको प्रभावकारी पालना गर्न आग्रह गर्नु भएको छ । प्रशासन कार्यालयले बिहीबार बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्यु आदेश अवधि पूरा भएपछि प्रशासन कार्यालयले शुक्रवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेको हो ।
प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क)बमोजिम निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिनुभयो । प्रशासन कार्यालयले पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम,पश्चिममा संखुवासभाको सिमानाबाट पूर्व,उत्तरमा मित्रराष्ट्र चीन तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम र पाँचथर जिल्लाको सिमानाबाट उत्तर यति चारकिल्ला भित्र निशेधाज्ञा जारी गरेको छ । उक्त अवधिमा कुनैपनि प्रकारको भेला जुलुस,प्रर्दशन,बैठक,घेराउ गर्न पाइने छैन ।