सिदिङ्वा गाउँपालिका कार्यालय तोडफोड

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २५ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड गरिएको छ । साब्लाखु भञ्ज्याङमा रहेको गाउँपालिका कार्यालय बुधबार दिउँसो तोडफोड गरिएको हो ।
जेनजीका नाममा पुगेको एक समूहले गाउँपालिका कार्यालयमा तोडफोड गरेको बताइएको छ । भ्रष्टाचारविरोधी नाराबाजी गर्दै गर्दैै पुगेका सो समूहले गाउँपालिका कार्यालयका ताल्चा फोर्दै तोडफोड मच्चाएका थिए ।
भञ्ज्याङका स्थानीयका अनुसार तोडफोड गर्न पुगेका समूहले कार्यालय तोडफोड गरी कम्प्युटर, प्रिन्टर, फर्निचर लगायतका सामग्री उठाएका छन् । सो समूहले कार्यालय तोडफोड गरी उठाएको सामग्री साब्लाखु स्वास्थ्य चौकीमा लगेर राखेका स्थानीयको भनाइ छ ।
गाउँपालिका कार्यालय तोडफोड गर्ने समूहको नेतृत्व र तोडफोड गर्नुको उद्देश्यबारे खुलिसकेको छैन । केही स्थानीयले हाल गाउँपालिका कार्यालय रहेको हालको वडा ४ साब्लाखुबाट वडा ५ लिम्बुदिन सार्नेगरी कार्यपालिकाले निर्णय गरेर प्रदेश सरकारसमक्ष सिफारिस गरेको विरोधमा तोडफोड गरेको हुनसक्ने अनुमान लगाएका छन् ।
बुधबार कार्यालयमा तोडफोड भइरहँदा सिदिङ्वा गाउँपालिकाका पदाधिकारीसहित जनप्रतिनिधि र कर्मचारी भने पालिकाको सहयोगमा आयोजित तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगितामा गएका बताइएको छ । त्यस्तै जेनजी आन्दोलनमा मृत्य भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न बुधबार एक दिन शोक विदा र बिहीबारदेखि देशको परिस्थितिअनुसार अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द रहनेगरी गाउँपालिकाले मंगलबार नै सूचना जारी गरेको छ ।
दोस्रो तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिता वडा १ कालिखोलास्थित तिम्बुङ पोखरी क्षेत्रमा आयोजना गरिएको छ । तिम्बुङ पोखरी क्षेत्र पुग्नलाई गाउँपालिका कार्यालय रहेको साब्लाखु भञ्ज्याङदेखि दुई दिनको पैदल दूरीमा पर्दछ ।