तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकामा क्षति

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २५ । ताप्लेजुङमा जेनजी पुस्ता (समूह) ले गरेको तोडफोड र आगजनीबाट फुङ्लिङ नगरपालिकाको महत्वपूर्ण कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ । मंगलबार राति करिव साढे ९ बजेतिर सो समूहले गरेको तोडफोड र आगजनीबाट नगरपालिका कार्यालयभित्र रहेको कागजात, फर्निचरसहितका सामग्री र भौतिक संरचनामा नराम्ररी क्षति पुगेको हो ।
नगरपालिका स्रोतका अनुसार कार्यालय भवनको सिसाहरु तोडफोडबाट ध्वस्त बनाइएको छ । यस्तै नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कक्षसहित विभिन्न फाँट तथा शाखामा तोडफोड र आगजनी गरिएको छ । तोडफोड र आगजनीबाट विभिन्न फाँटमा रहेका महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरसहितका उपकरण, फर्निचर लगायतका सामग्री नष्ट गरिएको छ ।
प्रत्येक कक्ष, फाँट र शाखाहरु रहेका कोठाका झ्याल, ढोका लगायतका भौतिक संरचना जेनजी समूहले ध्वस्त बनाएका छन् । त्यस्तै नगरपालिकाको दुई वटा वारुणयन्त्र (दमकल), एउटा टिप्पर र एउटा जेसिभी उपकरणमा पनि सो समूहले तोडफोड गरी क्षति पु¥याएका छन् ।
यसैगरी, जेनजी पुस्ताकै नाममा मंगलबार राति नै नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालयसमेत तोडफोड गरिएको छ । उक्त समूहले पार्टी कार्यालयहरुमा प्रवेश गरी टेबल, कुर्सी, दराज लगायतका फर्निचर सामग्री नष्ट गरेका छन् । कार्यालयमा रहेको महत्वपूर्ण कागजात, कम्प्युटर, प्रिन्टरसहितका सामग्रीसमेत सो समूहले तोडफोड गरी नष्ट गरेका सम्बन्धित पार्टीले जनाएका छन् ।
त्यस्तै जेनजी समूहकै नाममा मंगलबार रातकै समयमा फक्ताङ्लुङ गाउँपालिकास्थित निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनाको दुई वटा टिप्पर र भण्डारण कोठा (स्टोर रुम) मा आगजनी गरी क्षति गरिएको बताइएको छ । जेनजी समूहको नाममा मंगलबार दिउँसो भने सदरमुकाम फुङ्लिङमा शान्तिपूर्ण रुपमा नाराबाजी र प्रदर्शन गरिएको थियो ।